Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभिरमा दुईतर्फी यातायात सञ्चालन

चितवन । बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक १८ दिनपछि आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माण गरी सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडकको तल्लो भाग कटान गरेपछि करिब १०० मिटर सडक क्षतिग्रस्त भएर यातायात अवरुद्ध भएको थियो। सडक पूर्ण रूपमा भासिएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम पूरा भएपछि बिहीबार बिहानदेखि नियमित रूपमा यातायात सञ्चालन गरिएको हो। दुई दिनअघिदेखि सडकमा रोकिएका केही सवारीसाधनलाई भने क्रमशः पार गराउन थालिएको थियो।

पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी छोटो समयमै नयाँ ट्र्याक निर्माण गरेको हो।

कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको सवारी आवागमनसमेत नियमित गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सडक खुलेसँगै तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको सडकको काम तत्कालका लागि स्थगित गरिएको जानकारी दिए।

कृष्णभिर सडक लामो समय अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानीतर्फ आवतजावत गर्न नसकेपछि काठमाडौंमा एलपी ग्यास आपूर्तिसमेत प्रभावित भएको थियो।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा भदौ १४ गते पुनः आएको बाढीले कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्‍याएको थियो। अन्य स्थानमा सडक सञ्चालनमा आए पनि कृष्णभिरमा सडकको ठूलो हिस्सा भासिएपछि लामो समय यातायात प्रभावित भएको हो।

कृष्णभिर सडक हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।