Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन । मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ । न सडक बनेको छ,न त लापरवाही गर्ने ठेकेदारलाई कारवाही नै भयो स्थानीय देवी बस्नेत भन्छन्, ‘सडकका कारण हामी वर्षभरि सास्ती व्यहोर्न बाध्य छौं ।
मिक्लाजुङ गाउँपालिका–९ का वडाअध्यक्ष सोमनाथ अधिकारी उर्लाबारी–मधुमल्ला हुँदै उत्तरी भेग जोड्ने सडकको दुरावस्थाकै कारण त्यस क्षेत्रको समृद्धिको आधार गुमेको बताउँछन् । भत्किएको सडक निर्माणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले पटक–पटक ठेकेदारलाई दबाब दिएको छ,तर अहिलेसम्म ठेकेदारले सडक निर्माणमा कुनै चासो देखाएको छैन भनेका छन् । उर्लाबारी–मधुमल्ला सडक निर्माण गर्न दबाब दिन मानबहादुर श्रेष्ठको संयोजकत्वमा ‘उर्लाबारी–मधुमल्ला १२.४ किलोमिटर सडक निर्माण पहल तथा दबाब समिति’समेत गठन गरिएको थियो । समितिले पटक–पटक सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आएको छ । तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले ०२८ सालमा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटरमा कालोपत्रे भए पनि गुणस्तरीय काम नहुँदा अधिकांश क्षेत्रमा खाल्डाखुल्डी छ भने सडकको बाँकी खण्ड अझै धुलाम्मे नै छ ।
उक्त सडक निर्माणले पूर्णता नपाउँदा अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नुपरे मेची राजमार्गको घुमाउरो बाटो करिब दुई सय १३ किलोमिटर पार गर्नुपर्छ । रविबाट झापाको दमक जोड्ने करिब ५९ किलोमिटरको सडकको २० किलोमिटर खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वर्षायाममा उक्त सडकमा पनि यातायात बन्द हुन्छन् । उर्लाबारी–मधुमल्ला–रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्नेमात्र नभई यात्राको समय पनि छोटिन्छ । ताप्लेजुङ,पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्गका रुपमा रहेको उक्त सडकको कुनै खण्डमा पक्की पुल निर्माण गर्नुपर्दैन । ‘पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुन सक्छ,’ मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने ।
यो सडक उर्लाबारीमा पूर्व–पश्चिम राजमार्ग र रवि हुँदै राँके पुग्दा मेची राजमार्गमा जोडिन्छ । तर,सुरुवाती खण्डको उर्लाबारी–मधुमल्ला सडकमा टालटुले काम हुँदा सडकको भविष्य नै अन्योलमा परेको छ । उर्लाबारी–मधुमल्ला खण्डका लागि आठ करोड ९७ लाख २२ हजार रुपैयाँमा प्रेरारज्योति जेभीले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तोकिएको समयभन्दा वर्ष दिन ढिलो गर्दै कालोपत्रे गर्दा पनि ठेकेदार कम्पनीले गुणस्तरीय निर्माण गर्न सकेन । ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रेको काम बीचैमा अलपत्र छाडेको छ । ‘घर अगाडिको सडक कालोपत्रे भएकोमा दङ्ग परेका थियौं स्थानीय मनोज अधिकारीले भने तर,भत्किएर हिँड्नै नसकिने भयो । एक चरणको काममात्र गरेर अलपत्र छाडेको ठेकेदार कम्पनीका राजकिशोर गुप्तालाई तत्कालीन डिभिजन सडक कार्यालय विराटनगरले ९९ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गरेको छ ।
त्यसमध्ये ६३ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र काम सम्पन्न भएको छ । स्थानीय बासिन्दाले ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै दिएका छन् । डिभिजन सडक कार्यालयले पनि तत्कालीन समयमा ठेकेदारको चरम लापरवाही गरेको निष्कर्ष निकाल्दै कारवाहीका लागि विभाग पठाएको थियो । तर अहिलेसम्म नत सडक कालोपत्रे अघि बढेको छ,न लापरवाही गर्ने ठेकेदारलाई कारवाही भएको छ । अहिले यो सडक हेर्ने जिम्मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयमा सरेको छ । कार्यालयले पटक–पटक पत्र काटेर निर्माणको काम सञ्चालन गर्न ताकेता गरे पनि ठेकेदार सम्पर्कमा आउन नचाहेको इन्जिनियर शैलेन्द्रकुमार सिंहले बताएका छन् ।
ठेकेदार गुप्ताले भने जिम्मा लिएको काम सम्पन्न गर्न आफू तयार रहेको दाबी गरेका छन् । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडक निर्माणको माग गर्दै स्थानीयवासी एक सातादेखि आन्दोलित छन् । वैशाख २ गते बिहीबारदेखि स्थानीयबासीले उर्लाबारी–मधुल्ला सडक अवरुद्ध पारेर आन्दोलन गरिरहेका हुन् । स्थानीय भक्ति प्रसाद पोख्रेलको संयोजकत्वमा उर्लाबारी–मधुमल्ला सडक खण्ड मर्मत संघर्ष समिति गठन गरी उर्लाबारी–५ र ६ को डिबी मार्ग,अबिरल चोक र मधुमल्लामा सडकमा बाँसको ढाट राखेर सडक अवरुद्ध पारिएको छ । मंगलबार प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङले स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । प्रदेश १ लेखा समितिका सभापति शिवनारायण सिंह गनगाइँ,मोरङ क्षेत्र नं। १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू कुशल लगायतले स्थानीयको आन्दोलनप्रति समर्थन जनाउँदै आफूहरुले सडक निर्माणका लागि पहल गर्ने वचन दिएका छन् । प्रदेश सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट नहाल्दा ठेकेदार पक्षले काम रोकेको सांसद लिम्बूको भनाइ छ ।
सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको करिब ९ वर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । पटक–पटक पत्र काटेर निर्माण कार्य नियमित गर्न आग्रह गर्दा समेत ठेकेदार पक्ष सम्पर्कमा नआएको र सो सडक निर्माणको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बताइएको छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर,ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल