Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली चलेको घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा विवाद बढेर झडप भएको थियो। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन्।
प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए। घटनाका क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै नवनिर्मित अस्पतालको शिलालेख तोडफोड गरेका थिए।
घटनापछि सुरक्षाको कमान्ड सम्हालिरहेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ। मधेश प्रदेश प्रहरी स्रोतका अनुसार लामालाई उक्त जिम्मेवारीबाट हटाइएको हो।
अस्पताल उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा सहभागी हुन पुगेकी थिइन्। नेकपा एमालेले यसअघि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो। कार्यक्रम नरोकिएपछि एमाले कार्यकर्ताले विरोध जनाउँदा झडपको अवस्था सिर्जना भएको बताइएको छ।
विवेकशील साझा पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष पार्टी एकतापछि रास्वपामा आबद्ध भएका छन्। अस्पताल उद्घाटनको विषयलाई लिएर राजनीतिक दलका कार्यकर्ताबीच विवाद चर्किएको थियो। घटनाको कारण र प्रहरीको गोली चलेको अवस्थाबारे छानबिन समितिले प्रतिवेदन दिएपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल