Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयल निगम दैनिक २५ करोड घाटामा

जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन्।

शनिबार बर्दिबासमा आयोजित पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले निगमले दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेर पेट्रोल र डिजेल बिक्री गरिरहेको जानकारी दिए।

जनतालाई सहज मूल्यमा इन्धन उपलब्ध गराउने उद्देश्यले सरकारसँगको समन्वयमा निगमले घाटा सहेर पनि बिक्रीलाई निरन्तरता दिएको उनको भनाइ थियो।

कार्यकारी निर्देशक साहले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सर्लाहीमा ग्यास डिपो निर्माण भइरहेको जानकारी दिए। सर्लाही र भारतको मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको पनि उनले बताए।

पेट्रोलियम व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायीलाई आग्रह गर्दै उनले कमिसनलगायतका विषयमा आगामी दिनमा हुने निर्णयमा निगमले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले संस्थाको विकाससँगै व्यवसायीको हित पनि सुनिश्चित हुनुपर्ने बताए। लागतअनुसार प्रतिफल प्राप्त नभएको उल्लेख गर्दै उनले व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे।

एसोसिएसनका निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले न्यून सेवा शुल्कमा व्यवसायीले काम गर्नुपरेको बताए। व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै उनले उपभोक्तालाई केन्द्रमा राखेर तोकिएको गुणस्तर र परिमाणमा इन्धन उपलब्ध गराउनु सबैको जिम्मेवारी भएको बताए।

राज्यले व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै प्रधानले लागत र प्रतिफललाई बेवास्ता गरिए व्यवसायी पेसाबाट पलायन हुन सक्ने र त्यसले उपभोक्तालाई सहज सेवा दिनसमेत कठिनाइ सिर्जना गर्ने धारणा राखे।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीलाई आफ्नो पेसामा निष्ठा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे।

ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए। उनले पेट्रोलियम व्यवसायीले पाउने कमिसन न्यून रहेको भन्दै वृद्धि गर्नुपर्ने मागसमेत गरे।

पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीका अध्यक्ष राजिवप्रसाद साहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।