Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दैछ। पार्टीले शनिबार र आइतबार गरी दुई दिनमा ६१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
रास्वपाले हाल ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ। तीमध्ये ६१ जिल्लामा यस चरणमा अधिवेशन हुन लागेको हो भने बाँकी १६ जिल्लाको अधिवेशन अर्को चरणमा आयोजना गरिने पार्टीले जनाएको छ।
पार्टीको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन हुनेछ। त्यसलगत्तै रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गरिनेछ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लामा अधिवेशनका लागि केन्द्रले स्वीकृति प्रदान गरेको छ। अधिवेशनबाट प्रत्येक जिल्लामा नयाँ नेतृत्व चयन गरिनेछ। यसका लागि केन्द्रीय नेताहरू विभिन्न जिल्लामा खटिएका छन्।
शनिबार झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा, रौतहट, महोत्तरी, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा अधिवेशन हुँदैछ।
त्यसैगरी आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाजुरामा जिल्ला अधिवेशन आयोजना गरिनेछ।
रास्वपाले जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठनलाई संस्थागत गर्दै आगामी महाधिवेशनलाई नेतृत्व चयन र नीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। पार्टी स्थापना भएको करिब चार वर्षपछि हुन लागेको पहिलो महाधिवेशनलाई रास्वपाको संगठनात्मक रूपान्तरणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
२०८३ जेष्ठ २३
ताजा नेपाल
२०८३ जेष्ठ २३
ताजा नेपाल
२०८३ जेष्ठ २३
ताजा नेपाल