Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कुन कुन ठाउँमा बाढी पहिरोको जोखिम ?

काठमाडौं । वर्षा यामसँगै देशभर बाढी पहिरोको प्रकोप बढेर गएको छ । लगातारको वर्षा अझै रोकिएको छैन । आज पनि ठाउँ ठाउँमा बाढी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वअनुमान मशाहाखाले सचेत रहन आग्रह गरेको छ । आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा भइरहेको छ । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । बाढी सूचना केन्द्रले पनि राती देखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययम देखि भारी बर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनुहुनेलाई ११५५ सर्टकोड बाट सतर्क रहन लाखौँ बाढी पूर्वसूचनाको एसएमएस पठाएको जनाइएको छ । मौसम विज्ञान विभागले आज बिहानै १११५ नम्बरबाट मोबाइलमा सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकाले सम्भावित बाढीबाट जोगिन सचेत गराएको छ । विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ । पछिल्लो २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जोखिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ । यस्तै आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानहरुमा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।