Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो भूमिमा जान किन खोज्ने भारतको इशारा ?

काठमाडौं । आफ्नो भूमि छिमेकीले मिच्दा वर्षौ टुलुटुलु हेर्ने हामी वीर गोर्खाली । अहिले त्यही मिचिएको भूमि नेपालको नक्सामा त पारियो तर त्यहाँको अवस्था कुनै पनि सरकारले बुझ्न जान सकेको छैन । दार्चुलाको सीमावर्ती भारतीय प्रशासनले केन्द्र सरकारको आदेशबिना आफ्नो भूमि हुँदै नेपालीलाई छाङरु र टिंकर जाने पास दिन नसकिने बताएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय बाटो हुँदै छाङरु जानका लागि अनुमति माग्दै पिथौरागढस्थित भारतीय प्रशासन ‘डिस्ट्रिक मेजिस्ट्रेट’ (जिल्लाधिकारी) लाई कात्तिक २५, ३० र मंसिर १ मा पत्र पठाएको थियो । भारतीय बाटो हुँदै छाङरु र टिंकर जान नपाएपछि कात्तिक २५ बाट केन्द्रीय तथ्यांक विभागका कर्मचारी सदरमुकाम खलंगामा रोकिएका छन् । तर, सरकारले जनगणनामा खटिएका कर्मचारीलाई नेपाली भूमिबाटै त्यसतर्फ पठाउने विकल्पका बारेमा छलफलसम्म गरेको छैन । गणकलाई सैनिक वा निजी हेलिकोप्टर चार्टर गरेर छाङरु पठाउन सकिने विकल्प सरकारसँग छ । स्रोतका अनुसार पिथौरागढका जिल्लाधिकारी आशिष चौहानले केन्द्र सरकारको आदेश नआएसम्म अनुमति दिन नसक्ने व्यहोरासहितको पत्र पठाइसकेका छन् । दार्चुला प्रशासन भने अझै पनि भारतीय अनुमति पर्खेर बसेको छ । तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यस विषयमा छलफल भइरहेको बताए । गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको उनले दाबी गरे ।
उनले त्यहाँ जाने विकल्पको टुंगो लाग्नेबित्तिकै एक÷दुई दिनमै त्यस क्षेत्रको जनगणना सकिने बताए । यसअघिको अनुमानित तथ्यांकअनुसार छाङरुमा करिब १ सय २५ र टिंकरमा करिब ७५ घरधुरी छन् । टिंकर नेपाल–चीन सीमा क्षेत्र हो भने छाङरु नेपाल–भारत सीमावर्ती गाउँ हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यससम्बन्धी के–के विकल्प हुन्छन् भन्नेमा विभागबाट मन्त्रालयमा जानकारी नआएको बताए । जनगणनाको सबै जिम्मेवारी विभागको भएका कारण गृह मन्त्रालयले आवश्यक सहजीकरण र समन्वय गर्ने उनले स्पष्ट पारे । विभागले कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाका लागि तथ्यांक संकलन सक्ने तालिका बनाएको छ । सोहीअनुसार देशभर गणक खटिएका छन् तर दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर नेपाली बाटो भएर जान भौगोलिक कठिनाइ छ ।