Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इनम सापकोटासम्बन्धी समाचारमा तथ्य पुष्टि गर्न प्रहरीको आग्रह

काठमाडौं । बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासम्बन्धी अनुसन्धान जारी रहेकाले मुद्दासँग जोडिएका संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न जिल्ला प्रहरी परिसर काठमाडौंले आग्रह गरेको छ ।

परिसरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सापकोटाको मुद्दासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धान अधिकृतलाई सूचनाको स्रोतका रूपमा उल्लेख गर्दै अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएकोप्रति परिसरको ध्यानाकर्षण भएको हो । उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको जनाउँदै प्रहरीले अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ ।

यसअघि सापकोटासँग नाम जोडेर बिचौलियाको काम र आर्थिक लेनदेनको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विश्वराज पोखरेलले पनि प्रेस विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।

पोखरेलले सापकोटासँग आफ्नो चिनजान वा सम्पर्क नरहेको दाबी गर्दै समाचारमा लगाइएका आरोपलाई कपोलकल्पित, भ्रामक र निराधार बताएका थिए ।

प्रहरीले अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार तथा सामग्री प्रकाशन गर्न र मुद्दासँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा त्यसको आधिकारिकता पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

प्रचलित कानुनी व्यवस्था पालना नगरी मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन वा सम्प्रेषण गर्दा कानुनबमोजिम हुने चेतावनी दिँदै प्रहरीले अपुष्ट सामग्रीले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने जनाएको छ ।