Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानमाथि फेरि आक्रमण गर्न ट्रम्पलाई मनाउँदै नेतन्याहु

इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथि पुनः सैन्य आक्रमण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनाउने प्रयास तीव्र पारेका छन्। यसका लागि उनले इजरायली गुप्तचर संस्था मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्।

एक्सियोस र जेरुसेलम पोस्टका अनुसार गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। उनले त्यहाँ अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख जोन रेटक्लिफसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनी ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भेट गर्न मियामी जानेछन्।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार नेतन्याहुले पछिल्ला केही दिनदेखि ट्रम्पलाई दैनिक फोन गर्दै इरानमाथि थप सैन्य कारबाहीका लागि आग्रह गरिरहेका छन्। यसक्रममा दुई नेताबीच नोभेम्बर ५ मा इरानमाथि आक्रमण गर्ने विषयमा समेत छलफल भएको थियो।

तर, ट्रम्प तत्काल नेतन्याहुको प्रस्ताव स्वीकार गर्ने पक्षमा देखिएका छैनन्। अमेरिकाले अहिले इरानमाथि ठूलो सैन्य आक्रमण गर्नुभन्दा आर्थिक दबाब बढाउने रणनीति अघि सारेको छ।

यस रणनीतिअन्तर्गत अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी कायम राख्ने र त्यसबाट इरानको व्यापार तथा आम्दानीमा दबाब सिर्जना गर्ने नीति लिएको छ।

अमेरिकाको यस रणनीतिमा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र बहराइनजस्ता खाडी मुलुकले पनि सहयोग गरिरहेका छन्।

ट्रम्पका अनुसार साउदी अरेबियाले उनलाई केही समयका लागि अहिलेको अवस्था यथावत् राख्न आग्रह गरेको छ। साउदी अरेबियाको बुझाइमा इरान क्रमशः कमजोर हुँदै गएको छ। अन्य खाडी मुलुक पनि अमेरिकाले हतारमा थप सैन्य कदम नचालोस् भन्ने पक्षमा देखिएका छन्।

यसरी इजरायलले इरानमाथि थप सैन्य कारबाहीका लागि दबाब दिइरहँदा अमेरिका र खाडी मुलुक भने तत्काल सैन्य टकराव बढाउनुभन्दा आर्थिक दबाबलाई निरन्तरता दिने रणनीतिमा देखिएका छन्।