Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छठ मनाउन पत्नी निकितासहित जनकपुर जाँदै रवि, तीन दिन धार्मिक कार्यक्रममा सहभागी हुने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम जाने भएका छन्। उनी शनिबार जनकपुर पुगेर तीन दिनसम्म विभिन्न धार्मिक तथा पार्टीका कार्यक्रममा सहभागी हुनेछन्।

रास्वपा मधेस प्रदेश कार्यालयका अनुसार लामिछाने शनिबार दिउँसो १२:१५ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्।

शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उनले पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि साँझ ५ बजे छठ पर्वको खरना तथा अन्य तयारीका लागि निर्धारित निवासतर्फ प्रस्थान गर्नेछन्।

रास्वपा मधेस प्रदेश कार्यसमितिले शुक्रबार सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछानेले आइतबार जनकपुरसहित महोत्तरी र धनुषाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेछन्।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्मको भ्रमण कार्यक्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मुखियापट्टी, मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मरवा र धनुषाधाम मन्दिर समेटिएका छन्।

आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा पनि उनी सहभागी हुनेछन्।

सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्वको विधि पूरा गरेपछि लामिछाने जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम छ।

रास्वपा मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले सार्वजनिक गरेको सूचनामार्फत पार्टीका सबै तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन र आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।