Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आफैँ भड्खालो खोज्दै दुई तिहाइको दम्भले ग्रस्त बालेन्द्रपथ अल्गोरिदममा लठ्ठ बन्दै देशमा राज्य आतंक मच्चाउन तल्लीन छ । प्रधानमन्त्रीको चरित्रजस्तै प्रवृत्तिका सल्लाहकार र मन्त्री नियुक्त भएका छन् । यो सरकारको लक्ष्य नै जान्नेलाई छान्ने नाममा अराजकता सिर्जना गरी जनताको ध्यान सरकारविरुद्ध जान नदिनु हो । कहिले महिलामाथि दमन गर्ने खगेन्द्र सुनार प्रकरणलाई उचालिन्छ त कहिले आईजीपीमाथि चुनावका बेला खरिद गरिएको पोसाकको विवाद खडा गरिन्छ । आईजीपी दानबहादुर कार्कीको बर्खास्तीजस्तै पद नै नभएको स्थानमा सरुवाले हलचल ल्याए पनि कानुन, ऐन, नीति र नियम उल्लंघन गर्दा समेत सरकारलाई कुनै असर परेको देखिँदैन । पत्रकारिता पेसा छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफैँ पनि विवादित पात्र थिए । एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा गैरनागरिक भए पनि रविलाई काम दिनु नै उनका लागि पछिल्लो समय संकट निम्त्याउने कारण बन्यो ।
पाइला–पाइलामा ओली चरित्र
ओली आफैँ पनि कानुनको ख्याल नगर्ने प्रवृत्तिका थिए । ओलीको देखासिकी बुझेका बालेन्द्र शाहले दुई तिहाइको शक्तिलाई दम्भ, अहंकार र दुस्साहसमा परिणत गरेका छन् । चैत १२ गतेबाट बालेन्द्र शासन सुरु भएको हो । बालेन्द्र नेतृत्वको शासनको महिना दिनमै खोला किनाराका सुकुम्बासीका झुप्रामा डोजर चलाइयो । सुकुम्बासीका नाममा हुकुमबासीको हैकम तोडियो । वास्तविक सुकुम्बासीको संख्या अझै यकिन छैन । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको स्थायी व्यवस्थापन भएकै छैन । महानगर प्रमुख हुँदा नै बालेन्द्रको लडाइँ केन्द्रीय सरकारसँग भयो । उनले लडाइँमै तीन वर्ष बिताए । राजनीतिक चेतना शून्य भएकै कारण बालेन्द्रको व्यवहारबाट जनता दुःखी भए । प्राविधिक क्षेत्र अराजक हुन्छ भन्ने होइन । शैली, चिन्तन र स्वभावलाई अराजकताले डो¥याउँछ । बालेन्द्रको हकमा भएको त्यही हो । यो सरकारका हरेक निर्णय विवादित छन् । अदालतले त्यस्ता निर्णयलाई सहजै स्वीकार गर्दैन ।
पाँच पाण्डवको पौरख
मुली जस्तो छ, सहयात्री त्यस्तै हुन्छन् भन्ने कुरा बालेन्द्र गुटका शिक्षा, सञ्चार, गृह, पर्यटन र पूर्वाधारमन्त्रीका निर्णयले देखाएका छन् । सुधारका नाममा पैदा भएका अराजकतालाई नियन्त्रण गर्ने उपाय भनेको जिम्मेवार पदबाट हट्नु नै हो । बालेन्द्र र उनको यो टिम सधैँ सत्ता र पदमा रहँदैन । यो टिमले दोहो¥याएर चुनाव जित्ने सम्भावना पनि कमजोर छ । जनतालाई सेवा–सुविधा दिलाउने गरी कुनै काम गरेको देखिएको छैन । यो टिमका सांसदहरू छाडा छन् । कानुनको दायरामा यी सबै पर्छन् । जनतालाई ऐन लाग्छ, तर बालेन्द्रपथका पाँच पाण्डव र कौरवलाई कानुन लाग्दैन भन्ने हो ? खगेन्द्र सुनारले हिजो एउटी महिलामाथि गरेको अत्याचारको गम्भीर छानबिन नहुनुले पनि देश कता जाँदैछ भन्ने डर र त्रास बढ्नु स्वाभाविक हो । संसदीय मर्यादा नराख्ने पाँच पाण्डवका नेता प्रधानमन्त्री आफैँ सम्पत्ति कर तिर्नेमा पर्दैनन् । उनैले सम्पत्ति विवरणमा १९५ तोला सुन देखाएका थिए ।
संसदीय अराजकता
संसद्मा सत्ता पक्षका सांसद उपस्थित नहुँदा कोरम नपुगी बैठक स्थगित भएका दिन पनि छन् । संसदीय मूल्य र मान्यताविपरीत लाग्ने रास्वपाका सांसदहरूलाई छुट छ । जनताले हिजोको ओली शासनको अराजकता र बालेन्द्र सत्ताको अराजकताबीच भिन्नता पाउन सकेका छैनन् । लोडसेडिङका बेला निरन्तर विद्युत् उपयोग गरेर नाफा कमाउने उद्योगीले तिर्नुपर्ने १२÷१३ अर्ब रुपैयाँ उठाउन बालेन्द्रपथलाई चासो भएन । एनसेलले तिर्नुपर्ने १९ अर्ब रुपैयाँप्रति पनि सरकारको चासो देखिएन । सरकार आर्थिक रूपमा कमजोर बन्दैछ । लगानी गर्ने विश्वास दिलाउने वातावरण छैन । युवाहरूको विदेश पलायन बढ्दो छ । शिक्षा क्षेत्र सर्वसुलभ छैन । आफू कर नतिर्ने तर जनतालाई ग्यासमा पनि कर, शिक्षामा पनि कर, स्वास्थ्यमा पनि कर र लासमा पनि कर लगाएर पौरखीहरूलाई जाग्न बाध्य पारिएको छ । तर यस्ता गतिविधिले सरकारको स्थायित्वसमेत कमजोर बनाउँदैछन् । पुराना दलका अपराधका कारण यो सरकार जोगिएको हो ।
काँध थाप्ने कोही हुँदैनन्
मियो ठीक भयो भने अरू पनि ठीक हुन्छन् । जब मियो नै गलत छ भने अरू सद्दे खोजेर हुँदैन । सरकारले कुनै त्यस्तो उदाहरणीय काम गरेकै छैन । देशको अर्थतन्त्र ध्वस्त छ । अर्थमन्त्री आफैँ एडिबी र विश्व बैङ्कका दलाल छन् । उनले जनतासँग भोट लिए, तर तिनको जीवनस्तर सुधार गर्ने योजना ल्याएनन् । मृतकमाथि कर, पढेबापत कर र उपचार गर्दा कर लगाएपछि डा. वाग्लेको विज्ञता त्यही देखियो । लगानीमा विश्वास दिलाउन नसक्ने अवस्था रास्वपाको अराजक शैलीले ल्याएको प्रतिफल हो । खाद्यान्नजस्तो आवश्यक वस्तुमा समेत गुणस्तरको ख्याल नगर्ने अहंकारीहरूबाट जनताले न्याय पाउँदैनन् । विकल्प पुराना दल हुन्, तर केपी ओलीजस्तो विध्वंसकारीलाई साथ लिएर पुराना दलले अवसर प्राप्त गर्न सक्दैनन् । सबै जनतालाई हेपेर बालेन्द्रपथ र ओलीपथको प्रगति हुँदैन । भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न कसैले सक्दैन ।
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल