Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिदेखि निराहार व्रत सुरु गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन्।

काठमाडौंको गौरीघाट, कमलपोखरीलगायत विभिन्न पोखरी तथा जलाशयमा भेला भएका व्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरेका छन्। अर्घ्य अर्पणपछि प्रसाद ग्रहण गर्दै उनीहरूले आफ्नो व्रत समापन गरेका हुन्।

महोत्तरीलगायत तराई–मधेशका विभिन्न जिल्लामा पनि सूर्योदयसँगै व्रतालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका छन्। सूर्य उपासनाको यो पर्व सम्पन्न भएसँगै व्रतालुहरू छठी घाटबाट घर फर्किएका छन्।

यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुले निराहार व्रतकै क्रममा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरेका थिए।

छठ पर्वको सुरुवात भने कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट भएको थियो। यस दिन व्रतालुले पवित्र स्नान गरी चोखोनीतो भोजन गरेर व्रतको सङ्कल्प गरेका थिए। त्यसपछि पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरेका थिए।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वमा विभिन्न धार्मिक विधि र परम्परा पालना गरिन्छ। विशेषगरी षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ।

छठ पर्व सम्पन्न गरी घर फर्किएपछि व्रतालुले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गर्ने परम्परा छ। त्यसपछि प्रसाद ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रलाई प्रसाद खुवाउने क्रम सुरु हुन्छ।

छठ पर्वमा ठेकुवा, भुसुवालगायत विभिन्न मिष्ठान्न परिकार, केरा तथा अन्य फलफूल र माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइन्छ। सूर्यदेवलाई अर्पण गरिएका यिनै सामग्री प्रसादका रूपमा ग्रहण तथा वितरण गरिन्छन्।

मिथिलामा छठको प्रसाद बाँड्ने परम्परा विशेष महत्त्वका साथ मनाइन्छ। छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा छठको प्रसाद ‘भार’ (सोली) बनाएर पठाउने चलन छ। प्रसाद खाने र खुवाउने यो परम्परा पर्व सम्पन्न भएको लामो समयसम्म अर्थात् महिनादिनसम्म चलिरहन्छ।