Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न आठौं महाधिवेशनलाई लक्षित गर्दै नेताहरूले छुट्टाछुट्टै प्यानल बनाउने तयारी तीव्र पारेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका बेला उनलाई चुनौती दिन पार्टीभित्रैबाट अर्को समूह सक्रिय भएको छ।
लिङ्देनसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले छुट्टै प्यानल बनाउने तयारी गरेका छन्। उनलाई पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको संस्थापन इतरका एक नेताले बताएका छन्।
महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिसहित तीनै नेता देश दौडाहामा निस्किएका छन्। ‘पार्टी संगठन सुदृढीकरण’ अभियानका नाममा थापा, लोहनी र पाण्डेले कोशी तथा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका छन्। उनीहरूले कार्यकर्ताका धारणा सुन्नुका साथै पार्टीको भावी दिशा र नेतृत्वबारे आफ्नो दृष्टिकोणसमेत राखिरहेका छन्।
तीन नेताले झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही र बारालगायत जिल्लामा कार्यक्रम गरेका छन्। ‘राप्रपा फेरि उठाउँछौं, उठाउनै पर्छ’ भन्ने नारासहित उनीहरू जिल्ला भ्रमणमा छन्। तर, पार्टी संगठन सुदृढीकरणका नाममा भइरहेका यी कार्यक्रमका लागि पार्टी केन्द्रबाट भने औपचारिक स्वीकृति लिइएको छैन।
सातौं महाधिवेशनपछि अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निरन्तर आलोचना गर्ने नेतामध्ये तत्कालीन महामन्त्री डा. धवलशमशेर राणा अगाडि थिए। उनको कित्तामा डा. लोहनी र पाण्डे पनि थिए। संस्थापन पक्षविरुद्ध एकै ठाउँमा उभिएका नेताहरूमध्ये धवलशमशेरले पार्टी नै परित्याग गरे भने लोहनी र पाण्डे पार्टीभित्रै रहेर असन्तुष्ट समूहको नेतृत्व गरिरहेका छन्।
महाधिवेशनको मिति सार्ने, नेता–कार्यकर्तालाई कारबाही गर्ने तथा राजसंस्थाको एजेन्डालाई कुन रूपमा अघि बढाउने भन्ने विषयमा अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति पार्टीभित्र लामो समयदेखि मतभिन्नता रहँदै आएको छ।
लिङ्देनका कटु आलोचक धवलशमशेरले नयाँ दल गठन गरेपछि पार्टीभित्र असन्तुष्ट समूहको नेतृत्वमा पाण्डेको सम्भावना थप बलियो बनेको छ। लिङ्देनले कारबाही गरेका अधिकांश नेता तथा कार्यकर्ता धवलशमशेरको पक्षमा देखिएका थिए। राजसंस्था पुनर्बहालीको आन्दोलनमा धवलशमशेरसँगै सक्रिय रहेका पाण्डे भने उनीजस्तो आक्रामक रूपमा प्रस्तुत भएका थिएनन्।
पार्टीको निर्देशक समितिबाट राजीनामा दिएका डा. लोहनी र अघिल्लो महाधिवेशनमा लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएका कमल थापाको समर्थन जुटाएर पाण्डे भावी नेतृत्वका लागि कार्यकर्तामाझ पुग्न थालेका छन्।
महाधिवेशन केन्द्रित भेटघाटमा पाण्डेले अध्यक्ष लिङ्देनको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाइरहेका छन्। पार्टीलाई पुनर्ताजगी दिन आफू कार्यकर्तामाझ आएको बताउँदै उनले आसन्न महाधिवेशनबाट सक्षम र क्षमतावान नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाको मुद्दा समाप्त भइसकेको अवस्थामा पनि तत्कालीन अध्यक्ष कमल थापाले मेची–महाकाली यात्रा गरेर पार्टीको एजेन्डा स्थापित गरेको पाण्डेको दाबी छ। तर, अहिले पार्टीको मुद्दा जोगाएर राख्न नेतृत्व असफल भएको उनको आरोप छ।
‘तर हाम्रो मुद्दा टिकाएर राख्न सक्ने काम हुन सकेन। अझै पनि ढिलो भएको छैन,’ पाण्डेले कार्यकर्तामाझ भनेका छन्।
२०७८ को महाधिवेशनमा लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए। गत पुसमा उनी पुनः राप्रपामै फर्किएका थिए। अहिले उनै थापा लिङ्देनविरुद्ध पाण्डेको पक्षमा उभिनुले महाधिवेशनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
थापा, लोहनी र पाण्डेको सक्रियतामा भइरहेको जिल्ला दौडाहामा अध्यक्ष लिङ्देनले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको आरोप लगाइएको छ। पार्टीलाई जनतामाझ लैजाने अभियान सुरु गर्न आफूहरूले प्रस्ताव गर्दा लिङ्देनले अस्वीकार गरेको र त्यसकै कारण संगठन कमजोर बनेको पाण्डेको भनाइ छ।
पूर्वअध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाको नेतृत्वकालमा सबै नेताहरू सँगसँगै पार्टीका कार्यक्रममा सहभागी हुने गरेको भए पनि वर्तमान नेतृत्वमा त्यस्तो वातावरण नरहेको पाण्डे बताउँछन्।
अध्यक्ष लिङ्देनलाई लक्षित गर्दै उनले भने, ‘उहाँबाट काम भएन। कुरा मात्रै गर्ने, काम नगर्नेको फेला परेका छौं।’
पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै जाँदा नेता–कार्यकर्ताले राप्रपा छोड्नुपरेको संस्थापन इतरका नेताहरूको दाबी छ। अध्यक्ष लिङ्देनले गर्ने कारबाहीका कारण कार्यकर्तामा निराशा बढेको र उनीहरू निष्क्रिय बस्नुपर्ने अवस्था आएको असन्तुष्ट पक्षको भनाइ छ।
पूर्वअध्यक्ष कमल थापाले पनि राप्रपा इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन्। कार्यकर्तामाझ उनले चुनावी हारजितलाई मात्र पार्टीको कमजोरीको कारण मान्न नसकिने बताएका छन्।
‘चुनावमा हार र जितको कारणले मात्रै होइन, संरचनात्मक दृष्टिकोणबाट नै राप्रपा कमजोर भएको छ। सक्रिय सदस्य बन्न कुनै उत्साह छैन,’ थापाले भनेका छन्।
निर्विरोध नेतृत्व चयन हुन सक्ने तल्लो तहका समितिमा समेत बस्न इच्छुक कार्यकर्ता पाउन नसक्ने अवस्था आएको उनको भनाइ छ। यसले पार्टीको संगठनात्मक अवस्था कमजोर हुँदै गएको संकेत गर्ने थापाको विश्लेषण छ।
अध्यक्ष पदका आकांक्षी पाण्डे भने कानुनी विवादबाट समेत पूर्ण रूपमा मुक्त भइसकेका छैनन्। सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट पूर्ण सफाइ पाए पनि ई–बिडिङ ह्याक प्रकरणसँग सम्बन्धित अर्को मुद्दा विचाराधीन अवस्थामा छ।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आठौं महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार सबै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समय तोकिएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ। यसअनुसार महिला तीन, समावेशी समूहबाट दुई, खुलाबाट तीन र उत्पीडित समुदायबाट एक जना प्रतिनिधि चयन हुनेछन्। प्रतिनिधि छनोटमा ४० वर्षमुनिका युवाको सहभागिता पनि सुनिश्चित गर्नुपर्ने व्यवस्था छ।
गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेशका अध्यक्षहरू भने स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्।
महाधिवेशनमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्। महाधिवेशन सफल बनाउन विभिन्न समिति गठन गरेर काम अघि बढाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
महाधिवेशनको प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रवक्ता श्रेष्ठले पाएका छन्। उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, महासचिव भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति गठन गरिएको छ।
त्यस्तै, उपाध्यक्ष हेमजंग गुरुङलाई भोजन व्यवस्थापन, महासचिव राजेन्द्र गुरुङलाई जिल्ला सम्पर्क समन्वय, उपाध्यक्ष बुद्धिमान तामाङलाई सभा तथा जुलुस व्यवस्थापन र निरञ्जन थापालाई विधान संशोधन मस्यौदा तयारीको जिम्मेवारी दिइएको छ।
राप्रपाको विधानमा लगातार दुई पटक अध्यक्ष बन्न पाउने व्यवस्था छ। यही व्यवस्थाका कारण लिङ्देन पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न योग्य छन्। तर, उनले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने वा नबन्नेबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
लिङ्देनले उम्मेदवारी घोषणा नगरे पनि संस्थापन इतर समूहले पाण्डेको नेतृत्वमा छुट्टै प्यानल बनाउने तयारी गर्नुले आठौं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा रोचक हुने देखिएको छ। यसपटकको महाधिवेशनले राप्रपाको भावी नेतृत्व मात्रै होइन, पार्टीको संगठनात्मक दिशा र राजनीतिक एजेन्डाको भविष्यसमेत निर्धारण गर्नेछ।
२०८३ मंसिर १
ताजा नेपाल
२०८३ मंसिर १
ताजा नेपाल
२०८३ मंसिर १
ताजा नेपाल