Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपसभामुखलाई हटाउन पुगेन दुई तिहाइ

काठमाडौं । स्वार्थका लागि सत्तामा हुनेहरुले जे पनि गर्दा रहेछन् भन्ने पछिल्लो उदाहरण बनेकी छिन् उपसभामुख इन्दिरा राना मगर । नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम्म नछोड्न दिएको निर्देशनलाई हेर्दा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया तत्कालै अघि बढ्नुपर्ने हो। तर, यो प्रक्रिया केही समयका लागि धकेलिएको कांग्रेस–एमाालेका नेता बताउँछन्। केही दिनमै दुईतिहाई पुऱ्याउने सम्भावना कमजोर बन्दै गएपछि उपसभामुख हटाउने प्रस्ताव संसदमा दर्ता गर्न उनीहरु रोकिएका छन्। अब रानाले पत्र लेखिदिएका, पैसा लिएका भनिएका व्यक्तिहरुसँग सोधपुछ गरी प्रमाण बलियो बनाएर मात्र प्रक्रिया अघि बढाउने निचोडमा पुगेको एक सांसदले बताए। उपसभामुखविरुद्ध प्रस्ताव दर्ता हुन्छ। तर, त्यसअघि प्रक्रिया पुऱ्याउन लागेका छौँ, ती सांसदले भने, राजीनामा दिए ठीकै छ। नत्र उनलाई पैसा बुझाएका व्यक्तिसँग सीआईबीले सोधपुछ गर्छ। पैसा दिएकै होइन भनेमा कुरा सकिन्छ। नत्र पैसा लिएको पुष्टि भएमा त प्रहरीले पक्राउ गर्नुपऱ्यो नि । रानाले अमेरिका जान मिति सार्न पत्र पठाएका व्यक्तिहरुसँग बयान लिन संसदको राज्य व्यवस्था समितिले सीआईबीलाई पत्राचार गर्ने तयारी गरेको छ। नेताहरुका अनुसार त्यसै हटाउँदा नराम्रो सन्देश जाने भएपछि कांग्रेस–एमालेले अर्को बाटो लिएको यस प्रक्रियामा सामेल सांसदहरूको भनाइ छ। तत्काल उपसभामुख हटाउने प्रक्रिया अघि बढ्न नसक्नुमा कांग्रेस नेता विभाजित हुनु हो। कांग्रेसमा शेखर कोइराला पक्षधरले उपसभामुख हटाउन हतार गर्न नहुने भनी नेतृत्वलाई सतर्क गराएको छ। यस्तै, सत्तारुढ दलमध्ये जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी जसपा नेपाल अनिर्णित रहेका कारण पनि संख्या पुऱ्याउन कांग्रेस(एमालेलाई गाह्रो भएको छ। यसबेला प्रक्रिया अघि बढाउँदा दुईतिहाई पुऱ्याउन नसके ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने भन्दै केही समय ‘होल्ड’ गर्नुपर्ने अवस्था उत्पन्न हुन थालेको अर्का सांसदको भनाइ छ। यद्यपि, अहिलेसम्म पनि हस्ताक्षर संकलनको क्रम भने जारी राखिएको छ। हुन त नेपाली राजनीतिमा यस्ता खालका परिघटना अकस्मात् नभएका होइनन्। राजनीतिक दलका शीर्ष तहका नेताहरुले नै हुँदैन भनेर रेकर्डमा बोलेका कतिपय घटना तत्कालै भएका पनि छन्। तर, उपसभामुख रानालाई हटाउन दुईतिहाई (१८३) सांसद नै चाहिने र तत्काल त्यो संख्या नपुग्ने भएकोले जोखिम उठाउने पक्षमा कांग्रेस देखिँदैन।रानालाई हटाउन नहुने भन्दै केही ठाउँबाट आएको दबाबले सभापति शेरबहादुर देउवा स्वयं पछि हट्न खोजेको अर्का नेताले दाबी गरे। केही नेता त अहिले यस्ता विवाद आउने कुरामा फस्न नहुने धारणा राख्न थालेको उनको भनाइ छ।


सम्बन्धित समाचार