Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले बागमती अधिवेशन आजबाट

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ । अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् । अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ । प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएको कारण पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् । हालसम्म अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीको नाम पनि चर्चामा छ । बागमती प्रदेश अधिवेशनलाई एमालेको केन्द्रीय महाधिवेशनको झल्को दिने गरी गरिन लागिएको अध्यक्ष पाण्डेको भनाइ छ । देशको राजधानीमा हुन लागेको प्रदेश अधिवेशनले ठूलो महत्व दिने भन्दै पाण्डेले अधिवेशनलाई भव्य बनाउन प्रविधिमैत्री बनाइने बताए ।