Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले भने- मुलुकमा तानाशाह ल्याउन खोजिँदैछ

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुँदै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति, पार्टीको भूमिका र राष्ट्रिय मुद्दाबारे सम्बोधन गरेका छन्। अध्यक्ष ओलीले देशमा गत जेन(जी आन्दोलनपछि हाल भइरहेको घटनाक्रमलाई ‘अप्रत्याशित प्रतिक्रान्तिको संकेत’ का रूपमा व्याख्या गर्दै समयमै कदम नचालिए देश ‘प्रतिक्रान्ति र बर्बादीतिर धकेलिने’ चेतावनी दिए। उनले भने, आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ। त्यसबाट देश प्रतिक्रान्तितिर जाँदैछ। यदि हामीले रोकेनौँ भने देश बर्बादीतिर धकेलिनेछ। ओलीले लोकतान्त्रिक मूल्य र सुशासन जोगाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउँदै थपे, ‘हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा देशलाई अघि लैजानुपर्छ।’ उनले एमालेमाथि हाल भइरहेका प्रहारहरू पार्टीका राम्रा नीतिहरूका कारण भएका बताए । ’हाम्रा गलत नीतिका कारण हामीमाथि आक्रमण भएको होइन’, उनले भने, ‘हामी अहिले प्रहारको निशाना भएका छौँ, तर देशविरोधी नीति अंगालेर होइन। हाम्रा नीतिहरू राम्रा भएकै कारण आक्रमण भइरहेका छन् ।‘
ओलीले नेकपा एमालेलाई ‘कम्युनिस्ट आन्दोलनको अनवरत नेतृत्वकर्ता’ भन्दै कम्युनिस्ट आन्दोलनको मूलधार एमालेलाई नै ठहर गरे। ‘हामी कम्युनिस्ट आन्दोलनभन्दा के बुझ्छौँ ? नेकपा एमालेभन्दा के बुझ्छौँ ? एमाले नै कम्युनिस्ट आन्दोलनको निरन्तर नेतृत्व हो,’ उनले स्पष्ट पारे। देशमा लोकतन्त्र मन नपराउने र तानाशाही प्रवृत्ति ल्याउन खोज्ने शक्ति सक्रिय रहेको आरोप लगाउँदै उनले भने, ‘देशमा लोकतन्त्र मन नपराउने शक्ति छन्, तानाशाही ल्याउन खोज्नेहरू छन्।’ ओलीले राष्ट्रिय स्वाभिमानका मुद्दामा एमालेको दृढ अडान दोहोर्‍याए । ‘अरूले सिमानाको कुरा उठाउँदैनन्, सार्वभौमसत्ताको कुरा उठाउँदैनन्। तर हामी उठाउँछौँ भनेर हाम्रो आलोचना गर्नेहरू छन्’, उनले भने। एमालेको केन्द्रीय बैठक आगामी दुई दिनसम्म जारी रहनेछ। बैठकमा हालको राजनीतिक अवस्थापछि पार्टीको रणनीति, संगठन सुदृढीकरण र आगामी राजनीतिक कदमबारे विस्तृत छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल