Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमिशन विववादले निम्त्याएको हत्याकाण्ड

काठमाडौं । मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा पेशेवर अपराधीको प्रयोग भएको खुलेको छ । हत्याका लागि सुरुमै तीन लाख रुपैयाँ मुख्य अभियुक्त अनिलकुमार मण्डलले अमित साहलाई दिएको खुलेको हो । साहले हत्याको जिम्मा लिएर नासिर आलमसहित बाँकी अभियुक्तहरुलाई पैसा दिएर जोडेको प्रहरीले खुलायो । योजनावद्ध रुपमा ललितपुरको ठेचोमा घर भाडामा लिई सुरुमा मोहनप्रसाद लिम्बूको हत्या गरेका थिए ।
लिम्बूको हत्या २८ मंसिरमा गरेको मण्डलले बयानमा भनेका छन् । शव व्यवस्थापन सुरुमा घरभित्र गर्न ढलान फुटाउन खोजिएको थियो । पछि घरको पेटी नजिकै खाल्डो खनेर गाडेका थिए । मोहन लिम्बूको हत्यापछि पौषको पहिलो हप्ता मण्डलले राजेन्द्रप्रसाद श्रेष्ठ र शम्भुनाथ चौधरीलाई साथमै लिएर विराटनगर पुगेका थिए । त्यहाँ उनीहरुलाई होटल रत्नामा राखेका थिए । श्रेष्ठ र चौधरीको पालैपालो हत्या गरेका थिए । ५ पौषमा श्रेष्ठलाई होटलबाट लगेका थिए । घटनास्थलमा लुकेर बसेका अमित साहको समूहले डोरी र गम्छाको प्रयोग गरी हत्या गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।
मोहन लिम्बू, शम्भु चौधरी र राजेन्द्रप्रसाद श्रेष्ठसहित अनिलकुमार मण्डलले कारोबार मिलेर समेत गरेको खुलेको छ । तर, डेढ करोड कमिशनमा धोकाधडी गरेको भन्दै मण्डल रुष्ट थिए । लेनदेनको विवादले आक्रोशित मण्डलले कसैलाई बाँकी राखेनन् । उनले चौधरीको पनि ७ पौषमा हत्या गरी मोरङको उखुबारीमै गाड्न लगाए । प्रहरीले तीनवटै हत्या रातको समयमा भएको अनुसन्धानबाट पत्ता लगाएको छ । तीनवटै हत्यामा डोरी र गम्छाको प्रयोग पाइएको अनुसन्धानबाट खुलेको छ ।
घटनामा आठ भन्दा बढी व्यक्ति संलग्न रहेको आधारमा प्रहरीले खोजी तिव्र पारेको छ । यसका लागि अनिल मण्डलले लाखौं खर्च गर्ने सहमति समेत गरेको अनुसन्धानबाट पत्ता लागेको छ । बैनावापत तीन लाख दिएको र बाँकी रकम आफूलाई कमिशनवापत्को रकम आएपछि दिने खुलाएका थिए । बैंकले लिलाम गरेको जग्गा उकास्न ४ जनाले कमिशन लिने गरी सहमति गरेको समेत खुलेको छ । यसबाहेक ललितपुर र मोरङमा जग्गा प्लटिङमा समेत साझेदार रहेको र कमिशनमा विवाद रहेको खुलेको छ ।