Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माया, मोह, धन दौलत त्यागेर सन्यासी बनेका व्यक्तिलाई यति धेरै धनको मोह किन हुन्छ ? बालयौन दुराचार र बलात्कार आरोप लागेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गर्यो। त्यसबारे जानकारी दिन बुधबार दिउँसो ब्यूरोले गरेको पत्रकार सम्मेलनमा बम्जन पक्राउ पर्दाको विवरण र बरामद भएका सामानहरूबारे जानकारी दिइयो। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आफूलाई ‘लिटिल बुद्ध’को रूपमा समेत चिनाएका बम्जनको शोखको खुलासा गर्यो। प्रहरीले उनको साथबाट करोडौं रकम र करोडौं मूल्य पर्ने गाडी बरामद गर्यो। सर्लाही जिल्ला अदालतबाट बालयौन दुराचार र बलात्कार मुद्दामा उनी विरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। अदालतको आदेशअनुसार प्रहरीले ‘लिटिल बुद्ध’ भनेर चिनिने बम्जनको खोजी जारी राखेको थियो। त्यसबीचमा उनी विरुद्ध अन्य जिल्लामा पनि बेपत्ता र बलात्कारको उजुरी दायर भइरहेको थियो। त्यस क्रममा प्रहरीले मंगलबार विशेष सूचनाका आधारमा काठमाडौंको बुढानीलकण्ठ ६ टनगाउँस्थित उनको घरबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। प्रहरी आएको थाहा पाएपछि उनी घरको चौथो तलामा रहेको दक्षिणको झ्यालबाट भिरालो जमिनमा हामफालेर भाग्न खोजेका थिए। सोही क्रममा उनी पक्राउ परेका हुन्।
प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार पाँच सय रूपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रूपैयाँ बराबरको विभिन्न विदेशी मुद्रा बरामद गरेको छ। त्यसका अलावा १४ थान मोबाइल, २० थान पेनड्राइभ, ३ थान मोटरसाइकलको बिलबुक, टोयटा हाइलक्स गाडीको चावी, भ्वाइस रेकर्डर, २ थान मेमोरी कार्ड, २ थान ल्यापटप, ५ थान आइप्याड र अन्य विभिन्न कागजात पनि प्रहरीले बरामद गरेको छ। अनुसन्धानकै क्रममा प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी प्रयोग गर्ने गरेको तथ्य खुलेको प्रवक्ता अधिकारीले बताए। यस्तै बम्जनको प्रयोगका लागि ललितपुर बौद्ध श्रवन धर्म संघका अध्यक्ष पनित महर्जनको नाममा पाँच करोडमा सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स गाडी बुक भएकोमा तीन करोड भुक्तानी भई खरिदको क्रममा रहेको खुल्न आएको छ। बम्जनले क्रसफायर बाइक, केटीएम ड्युक बाइक, यामाहा रे जेडआर स्कुटर समेत चारवटा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने गरेको आचार्यले बताए। प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको र त्यसलाई अझ तीव्रता दिनेसमेत बताएको छ। आचार्यका अनुसार बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिने र उनको निवासबाट फेला परेको नगदबाट अलग्गै अनुसन्धान हुने बताए।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल