Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले भेट्ला शितल निवासमा ठाउँ

काठमाडौं । सभामुखको निर्वाचनपछि निस्कँदै गर्दा संसद भवन परिसरमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारहरूसँग आगामी राष्ट्रपतिका लागि आफू राष्ट्रिय सहमति खोज्ने पक्षमा रहेको बताए।
नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड आगामी राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउने सोचमा देखिन्छन्।
उनले आफ्नो यो प्रस्ताव पार्टीको स्थायी कमिटी बैठकमा समेत राखेका छन्।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गरे। आफ्नो त्यो ब्रिफिङका क्रममा उनले राष्ट्रपति र उपराष्ट्रपतिको प्रसंगसमेत निकाले।
नेपाली कांग्रेस पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर एमाले र अरू दलहरूसँग संवाद भइरहेको प्रचण्डले स्थायी कमिटी बैठकमा बिफ्रिङ गरेका छन्।
कांग्रेस र एमालेको अडान बाहिर आइसकेको तर आफ्नो प्रयास राष्ट्रिय सहमतिका लागि भएको प्रचण्डको भनाइ थियो।
यद्यपि गठबन्धनलाई तलमाथि गर्नेबारे कुनै सोच नभएको पनि प्रचण्डले सुनाएका छन्।
तर, कांग्रेसले विश्वासको मत दिएपछि सरकार राष्ट्रिय सहमतिको भएकाले राष्ट्रपति र उपराष्ट्रपतिमा पनि राष्ट्रिय सहमति हुँदा राजनीतिक स्थिरता कायम हुने प्रचण्डको बुझाइ छ।
प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको विषय झिकेपछि कांग्रेस नेताहरू हौसिएका छन् भने एमाले नेताहरू सशंकित बनेका छन्।
प्रतिनिधिसभाको सभामुख र उपसभामुख गुमाइसकेको नेपाली कांग्रेसको नजर अब राष्ट्रपतितिर पुगेको छ।
एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिनुपछाडि कांग्रेसको एउटा आशय आफूले राष्ट्रपति लिनु पनि थियो।
तीन दिनअघि बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय नै गरिसकेको छ।
कांग्रेसलाई पछिल्लो समय नेकपा ९एकीकृत समाजवादी०, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ। तर, राष्ट्रपतिमा आफूले अघि सारेको उम्मेदवारलाई निर्वाचित गराउन यी दुई दलको साथ कांग्रेसका लागि पर्याप्त छैन।
त्यसैले राष्ट्रपति निर्वाचनका लागि अरू दलसँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ।
राष्ट्रपतिका लागि हौसिएको कांग्रेसलाई थप बल दिएका छन्, प्रधानमन्त्री प्रचण्डले। राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने आफ्नो प्रयास हुने प्रचण्डको धारणापछि कांग्रेस हौसिएको हो।
कांग्रेसले संघमा प्रचण्डसहित केही प्रदेसमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत र सभामुखलाई समर्थन गरेको छ। यस्तो समर्थन उसले एमालेका उम्मेदवारलाई भने गरेको छैन।
संघसहित केही प्रदेसमा माओवादीका उम्मेदवारलाई मत दिएर कांग्रेसले राष्ट्रपतिमा ‘स्पेस’ खोजिरहेको छ। यद्यपि यो विषयमा माओवादी केन्द्रले औपचारिक निर्णय भने गरिसकेको छैन।