Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेससँग पद बाँड्न इच्छुक प्रचण्ड

काठमाडौं । वामपन्थी बाहुल्य सरकारलाई काँग्रेसले पनि समर्थन गरेपछि राजनीतिक कोर्ष परिवर्तन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन्। नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले राष्ट्रपति र सभामुख पदमा कांग्रेससँग छलफल भइरहेको संकेत गरेका हुन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति हुँदा नै एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख (पहिलो आधा कार्यकाल) पद एमालेले लिने सहमति भएको विश्वास गरिएका बेला प्रचण्डले त्यस्तो सहमति नभएको बताएका हुन्। राष्ट्रपति, सभामुख कसलाई बनाउने भन्ने लिखित सहमति भएको छैन, प्रधानमन्त्री प्रचण्डले शनिबार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग भने, छलफल गर्दै जाने भन्ने छ, अब माघ ३ गते बस्ने सर्वदलीय बैठकमा त्यसबारे छलफल हुन्छ र सहमतिमा पुगिन्छ। प्रचण्डले आज शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग ३ गते सर्वदलीय बैठक बोलाउने सहमति भएको बताए। ओलीकै सहमतिमा हुन लागेको सर्वदलीय बैठक कांग्रेससहितको हो, जसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख पद बाँडफाँटबारे छलफल गर्ने सहमति हुनुले एमाले पनि कांग्रेससँग समेत सत्ता बाँडफाँट गर्न तयार भएको जनाउ दिन्छ। प्रचण्डले सम्पादकहरूसँग त्यही संकेत गरे। सात दल राष्ट्रपतिकोमा गएर मलाई प्रधानमन्त्री प्रस्ताव गर्दासम्म कांग्रेस विपक्षमा बस्ने भन्ने थियो, प्रचण्डले भने, अब कांग्रेसले मलाई विश्वासको मत दिएपछि मेरो कोसिस राष्ट्रपति र सभामुखमा पनि (कांग्रेस सहितको) सहमतिबाट जाउँ भन्ने हुन्छ। ३ गते मलाई विश्वासको मत दिने पार्टीहरूको सर्वदलीय बैठकमा यसबारे छलफल हुन्छ र एउटा सहमति बन्छ, प्रचण्डले थपे। तर प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आज भएको छलफलमा भोलि साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको बताए, जसले कांग्रेस पनि सरकारमा सहभागी हुने वा राष्ट्रिय सहमतिको सरकार बनाउने चर्चाको खण्डन गर्छ। भोलि साँझसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने र पर्सि सोमबार मन्त्रिपरिषदको पूर्ण बैठक राख्ने सहमति ओलीजीसँग आज भएको छ, प्रचण्डले भने। माओवादी केन्द्रसम्बद्ध स्रोतहरूका अनुसार राष्ट्रपति र सभामुखमध्ये एक पद कांग्रेसलाई दिनेबारे सहमति जुटाउने कोसिस प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन्।