Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।
शनिबार काठमाडौंको महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा सदस्यता व्यवस्थापन समितिले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरेको हो।
संस्थापन इतर पक्षका अनुसार कुल ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्यको विवरण तयार गरिएको छ। त्यसमध्ये ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यको सदस्यता नवीकरण गरिएको र २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार अघिल्ला महाधिवेशनमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएका उदाहरणलाई ध्यानमा राख्दै यसपटक सदस्यताको विवरण व्यवस्थित रूपमा तयार पारेर निर्वाचन समितिलाई बुझाइएको हो।
संस्थापन इतर पक्षले यसपटक महाधिवेशनको तयारीमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइटसमेत सार्वजनिक गरिएको छ।
कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनको छोटो अवधिमा वेबसाइट निर्माण गरिएको र त्यसमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गरे। हाल नयाँ सदस्यताका लागि लक्षित गरिएको वेबसाइटलाई आगामी दिनमा थप व्यवस्थित र विस्तार गर्दै लैजाने जनाइएको छ।
अब कांग्रेसको क्रियाशील सदस्यता लिन चाहनेहरूले अनलाइनमार्फत आवेदन प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।
संस्थापन इतर पक्षले असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। निर्वाचन समितिका संयोजक एकराज पोखरेलले तोकिएको समयमै अधिवेशन प्रक्रिया अघि बढाउने र वडा अधिवेशनको नतिजा तत्काल सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी आधिकारिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिकाअनुसार विभिन्न तहका अधिवेशनहरू हुँदै आएका छन्।
तर, पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा छुट्टै १५औँ महाधिवेशन तयारी समिति गठन गरेर समानान्तर प्रक्रिया अघि बढाएको छ। सो समूहले काठमाडौंमा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका अघि सारेको विवरण सार्वजनिक भएको छ।
महाधिवेशन तयारी समितिका संयोजक डा. कोइरालाले नयाँ जोश र उत्साहका साथ महाधिवेशनमा अघि बढेको बताएका छन्। उनले सबैलाई समेटेर अघि बढ्ने आवश्यकता रहेको धारणा राखेका छन्।
यसरी कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी दुई फरक प्रक्रियाबाट अघि बढिरहेको छ। एकातर्फ पार्टीको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढिरहेको छ भने अर्कोतर्फ पूर्वसभापति देउवा पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ।
२०८३ आश्विन ११
ताजा नेपाल
२०८३ आश्विन ११
ताजा नेपाल
२०८३ आश्विन ११
ताजा नेपाल