Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा ५ सय स्वयंसेवी युवा परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै ५ सय जना युवाहरुलाई सडकमा परिचालन गरेको छ । ट्राफिक प्रहरीले दशै‌ं लगायत चाडपर्वको छेको पारेर सडकमा ट्राफिक व्यवस्थापन गर्न भनेर ५ सय जना स्वयंसेवी युवाहरुलाई सडकमा परिचालन गरेको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउनका लागि २३ वटा स्कूल–कलेज, २ वटा युवाक्लव, १६ वटा यातायात प्रालि, १० जना ख्यातिप्राप्त कलाकार, १२ जना एयरहोस्टेज गरी ५ सय जना युवालाई परिचालन गरिएको हो ।
काठमाडौंको दरबारमार्ग, केशरमल, त्रिचन्द्र कलेज, न्युरोड, वीर अस्पताल, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कुपन्डोल, पुल्चोक , कालिमाटी, कलन्की, महाराजगन्ज, गौसला, बि एण्ड बि अस्पताल अगाडि, जमल, भोटाहिटी, माइतीघर, सिंहदरबर, बानेश्वर, कोटेश्वर, पुतलीसडक, नयाँ बसपार्क, लगायतका स्थानमा यी युवाहरु खटिनेछन् ।
क्षमताभन्दा बढी यात्रु चढ्न नदिने, टिकट काउन्टरमा हुने ब्लयाकमेलिङको अन्त्य गर्ने, सडकमा ट्राफिक जाम हुन नदिने लगायतका कामहरु युवाहरुले गर्नेछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि खटिने युवाहरुलाई प्रारम्भिक चरणको प्रशिक्षण समेत दिएको छ ।
ट्राफिक नियम तथा ट्राफिक व्यवस्थापनका लागि अपनाउनु पर्ने उपायका सम्बन्धमा युवाहरुलाई प्रशिक्षण दिइएको महाशाखाले जनाएको छ ।
प्रशिक्षणमा सहभागी युवाहरुलाई आइतबार एक कार्यक्रम गरी ट्राफिक व्यवस्थापनका लागि परिचालन गरिएको हो । गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनमा खटिने युवाहरुको बिदाई गरे ।