Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दूरी २११ किलोमिटरसम्म घट्ने भएको छ। यसबाट उडान अवधि र जहाज सञ्चालन खर्चसमेत कम हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देश विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएको उल्लेख छ।
संयुक्त वक्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेको छलफललाई अघि बढाउने उल्लेख गरिएको छ। सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया र कार्यविधि टुंग्याउन दुवै देशका प्राविधिक टोलीबीच परामर्श हुनेछ।
हाल अन्तर्राष्ट्रिय उडानका जहाजले सिमरा एयररूटबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन्। भैरहवा एयररूट भने नेपालबाट बाहिरिने जहाजका लागि मात्रै उपलब्ध छ। यसले गर्दा पश्चिमबाट आउने जहाजले लामो दूरी घुमेर नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय उडानको दूरी ११४ नटिकल माइल अर्थात् करिब २११ किलोमिटर घट्नेछ।
अहिले दुबईबाट पोखरा आउने फ्लाई दुबईको जहाज भारतीय आकाश हुँदै सिमरा एयररूटबाट नेपाल प्रवेश गर्छ। त्यसपछि काठमाडौं हुँदै पोखरा पुग्छ। तर पोखराबाट दुबई फर्किँदा भने भैरहवा एयररूट प्रयोग गर्छ।
रेग्मीका अनुसार भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आए फ्लाई दुबईको जहाजले भैरहवा हुँदै सिधै पोखरा आउन सक्नेछ। यसले उडान दूरी र समय दुवै घटाउनेछ।
‘भैरहवाबाट नेपाल प्रवेश गर्न पाए जहाजको उडान अवधि घट्छ। उडान अवधि घट्नु भनेको खर्च पनि कम हुनु हो,’ उनले भनिन्, ‘यात्रा छोटो हुँदा टिकट शुल्क पनि घट्न सक्छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रम गौतमका अनुसार भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आए पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजको उडान दूरी १५० नटिकल माइल अर्थात् करिब २७८ किलोमिटरसम्म घट्न सक्छ।
यसबाट पोखरा र लुम्बिनीका विमानस्थलसँगै काठमाडौं र नेपालगञ्ज विमानस्थललाई समेत लाभ पुग्ने उनको भनाइ छ। छोटो दूरीका कारण उडान अवधि घट्नुका साथै हवाई ट्राफिक व्यवस्थापन पनि सहज हुने उनले बताए।
हाल गोरखपुर र सिमराको बीचको क्षेत्रबाट नेपाल प्रवेश गर्दा जहाजले लामो बाटो घुम्नुपर्ने अवस्था छ। भैरहवा एयररूट दुईतर्फी सञ्चालनमा आए यो बाध्यता हट्ने अपेक्षा गरिएको गौतमले बताए।
तर प्रधानमन्त्रीस्तरमा भएको सहमतिले तत्कालै उडान मार्ग परिवर्तन हुने भने होइन। भैरहवाबाट जहाजलाई कुन उचाइमा नेपाल प्रवेश गर्न दिने, उडान प्रक्रिया कस्तो हुने र हवाई ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा दुवै देशका प्राविधिक टोलीले टुंगो लगाउनुपर्नेछ।
आवश्यक प्राविधिक अध्ययन र प्रक्रिया पूरा भएपछि मात्र सहमति कार्यान्वयनमा आउने प्राधिकरणका प्रवक्ता गौतमले बताए।
नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडान भारतीय आकाश हुँदै सञ्चालन हुन्छन्। मध्यपूर्वबाट आउने जहाज पाकिस्तान हुँदै भारत प्रवेश गरेर नेपाल आउने गरेका छन्। लखनऊ क्षेत्रबाट भैरहवा हुँदै नेपाल प्रवेश गर्न पाउने व्यवस्था भए पश्चिमबाट आउने उडानको दूरी र समय घट्ने अधिकारीहरूको भनाइ छ।
पोखरा विमानस्थलकी प्रवक्ता रेग्मीका अनुसार भैरहवा एयररूट दुईतर्फी भएपछि पोखराबाट बाहिरिने जहाजले पनि भरतपुर हुँदै भैरहवा मार्गबाट भारतीय आकाश प्रवेश गर्न सक्नेछन्। यसले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई समेत सहज बनाउनेछ।
हाल फ्लाई दुबईको सीमित नियमित उडानमा निर्भर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग छोटिने सहमति महत्वपूर्ण मानिएको छ। यसले भविष्यमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न र जहाज सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल