Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हरेक वर्ष १ करोड २० लाख बालिकाको हुन्छ विवाह

काठमाडौं । विश्वभर प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको छ। बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाह अन्त्य गर्न संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।

बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसंघले यस्तो आह्वान गरेको हो। संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यस वर्ष पहिलोपटक विश्वभर यो दिवस मनाउन लागिएको हो।

राष्ट्रसंघका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। तथ्यांकअनुसार प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी गरेको सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका थिए।

उनका अनुसार बालविवाहको प्रमुख कारण गरिबी हो। द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका समयमा बालिकाहरू बालविवाहको थप जोखिममा पर्ने गरेका छन्।

बालिकालाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहन गर्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने गुटेरेसको भनाइ छ।

महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका माध्यमबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ। तर, अहिलेको प्रगतिको गति कायम रहे बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिएका छन्।

उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न तथा लगानी बढाउन आग्रह गरेका छन्।

यसैगरी, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न हालको प्रयासको गति २० गुणाले बढाउनुपर्ने बताएका छन्। राष्ट्रसंघीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।

बालविवाह मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै उनले विवाहको न्यूनतम उमेर १८ वर्ष निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताए।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ। साथै, बालिकालाई आफ्नै जीवनसँग सम्बन्धित निर्णय र समाधान प्रक्रियामा सहभागी गराउनुपर्ने उसको भनाइ छ।

दक्षिण एसियामा बालविवाहको ठूलो भार

राष्ट्रसंघका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि १८ वर्ष नपुग्दै विवाह हुने महिला तथा बालिकाको अनुपात २५ प्रतिशत रहेकामा अहिले घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब २ करोड ५० लाख बालविवाह रोक्न सफल भएको राष्ट्रसंघले जनाएको छ।

बालविवाहले बालिकालाई शिक्षाबाट वञ्चित गर्नुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत नकारात्मक असर पार्छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा र यौन शोषणको सम्भावना बढाउने राष्ट्रसंघको भनाइ छ।

दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। तर, वर्तमान प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै करिब ३०० वर्ष लाग्ने अनुमान गरिएको छ।

राष्ट्रसंघले बालविवाह अन्त्यका लागि कानुनी सुधार मात्रै पर्याप्त नहुने भन्दै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, सामाजिक सुरक्षा र आर्थिक अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।