Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन रोकियो वायुसेवाको जापान उडान ?

काठमाडौं । घोषित कार्यतालिका अनुसार काम हुन्थ्यो भने जुलाई ४ अर्थात असार १९ गते राष्ट्रिय ध्वजा फहराउँदै नेपाल बायुसेवा निगमको २७४ सिट क्षमताको ए ३३० जहाजले जापानी आकाश चुम्दै ओशाका विमानस्थलसम्म उडान भर्ने थियो । तर उचित समय चुन्न नसक्दा तत्कालका लागि जापान उडान सरेको छ । नेपाल बायु सेवा निगमले अगष्ट २९ तारिख अर्थात भदौ १२ गते जापानको ओशााका विमानस्थलमा पहिलो उडान भर्नेछ ।
ओशाकामा उडान भर्नका लागि मे ७ तारिख (२०७६ बैशाख २४) गते अनुमति पाएको थियो । निगमले मे १२ अर्थात बैशाख २९ तारिखदेखि नै टिकट बुकिङ खुल्ला गरेको थियो । तर एउटा उडानमा ३÷४ जनाले मात्रै टिकट बुकिङ गराए । ५० जना यात्रुले मात्रै टिकट काटेका भए पनि समयमै ओशाका जाने सम्भावना थियो तर प्रत्येक फ्लाइटमा ३÷४ जनाले मात्रै टिकट बुकिङ गरेका कारण उडान स्थगित गर्नु परेको बताइएको छ ।
निगमले मंगलबार, बिहिबार र शनिबार गरि सातामा ३ वटा उडान भर्न पाउने गरि अनुमति पाएको छ । तर नेपालबाट पढ्न जाने विद्यार्थीहरुको पुरानो सिजन सकिएको र नयाँ सिजन सुरु नभएको तथा जापानीहरु घुम्न जाने समय समेत घर्किएपछि निगमको जहाजले यात्रु नपाएको हो । नेपालबाट ओशाका पुग्न ६.५ घण्टा उडान भर्नुपर्छ भने फर्कँदा ७.२० घण्टा लाग्छ । दुई तर्फी उडानमा ८० टन इन्धन खर्च हुने अनुमान गरिएको छ । २७४ जना यात्रु बोकेर एक उडान (दुई तर्फी) भर्दा करिब ४० लाख हाराहारी नाफा निस्कने प्रारम्भिक प्रक्षेपण गरिएको छ । एक उडानका लागि करिब ८० टन इन्धन खपत हुनेछ । निगमले जापानका लागि दुई तर्फी भाडा न्युनतम ७० हजार तोकेको छ ।
निगमले अप्रिल महिनामै ओशाका उडान गर्ने तयारी गरेको थियो तर जापानबाट अनुमति लिन ढिलाई भएपछि जुलाई ४ गतेका लागि उडान तालिका निर्धारण गरेको थियो । जापानमा ५ सय प्रतिनिधी मार्फत टिकेट बिक्रिवितरण गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले ओशाकापछि टोकियो पनि उडान भर्ने तयारी पनि अघि बढाईसकेको छ । हाल निगमसँग ए ३३० जहाज २ वटा र ए ३२० जहाज २ वटा रहेका छन् । यी जहाजहरुबाट भारतको दिल्ली, बैंगलोर र मुम्बईमा उडान भरिरहेका छन् । त्यस बाहेक मलेसियाको क्वालालम्पुर, हङकङ, बैंकक, दुबई र दोहा उडान भरिरहेका छन् ।