Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्।
युक्रेनको एक गुप्तचर निकायले यी निष्कर्षहरू साझा गरेको हो। उनीहरूका अनुसार प्योङयाङले मस्कोसँगको सहकार्य अस्थायी रूपमा रोकेको छ। यसमा केएन २३ ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति पनि समावेश छ।
दक्षिण कोरियाप्रतिको रुसको दृष्टिकोणमाथि भएको कूटनीतिक विवादपछि यो कदम चालिएको हो। रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले सियोल र प्योङयाङ बीचको तनाव कम गर्न क्रेमलिनले मद्दत गर्ने दाबी गरेका थिए ।
द टेलिग्रामको रिपोर्टअनुसार, उनको टिप्पणीको जवाफ दिँदै उत्तर कोरियाकी विदेशमन्त्री चोई सोन-हुईले पनि सहयोग स्थगनको संकेत गरेकी थिइन्।
युक्रेनको सैन्य गुप्तचर एकाइ जीयू आरका अनुसार रुसी अधिकारीको टिप्पणी मस्को र प्योङयाङ बीचको गठबन्धनसँग मेल नखाने चोइले बताएकी थिइन्। उनले दक्षिण कोरियाप्रतिको आफ्नो नीति तत्काल स्पष्ट पार्न रुससँग माग गरेकी थिइन्।
गुप्तचर अद्यावधिकका अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले व्यक्तिगत रूपमै रुसलाई दिइने सैन्य सहायता रोक्न अनुरोध गरेको बताइएको छ। यो रोकमा उत्तर कोरियाली भू(भागमाथि हुने रुसी सैन्य उडानहरू समावेश छन्।
साथै रुस पठाइने तोपखानाका गोला र केएन(२३ ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ढुवानी पनि यसमा समेटिएको छ। युक्रेनमा मस्कोको सैन्य कारबाहीमा उत्तर कोरिया एक महत्त्वपूर्ण हिस्सा रहँदै आएको कुरा उल्लेखनीय छ। उत्तर कोरियाले सन् २०२३ देखि रुसलाई हतियार र सन् २०२४ देखि सेना आपूर्ति गर्दै आएको छ।
प्योङयाङले युक्रेनविरुद्धको युद्धका लागि मस्कोलाई ब्यालिस्टिक क्षेप्यास्त्र र तोपखानाका गोलाबारुद पठाएको छ। उसले कुर्सक ओब्लास्टमा रुसी सेनासँगै लड्न अनुमानित १४ हजार सैनिक पनि पठाएको छ। युक्रेनी, पश्चिमा र उत्तर कोरियाली अधिकारीहरूका अनुसार तीमध्ये कम्तीमा ६ हजार उत्तर कोरियाली सैनिक मारिएका छन्।
विगतमा विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको कडा निसानामा परेको उत्तर कोरियाका लागि सैन्य सहयोग विदेशी मुद्रा आर्जन गर्ने एक दुर्लभ स्रोत भएको बताएका थिए। त्यति मात्र होइन, सन् २०२४ यता मस्कोले युक्रेनी भू-भागमा उत्तर कोरियाका दर्जनौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
आफ्नो प्रतिवेदनमा जीयूआरले रुसमा रहेको उत्तर कोरियाली सैन्य उपस्थिति करिब ८ हजार ५ सय सैनिकबाट बढाएर ५० हजार पुर्याउने रुसी अनुरोधलाई प्योङयाङले रोकिरहेको पनि बताएको छ। यस वर्षको अगस्टमा युक्रेनी गुप्तचर निकायले रुसले आफ्नो युद्ध प्रयासका लागि प्योङयाङसँग थप ५० हजार सैनिक माग्न सक्ने चेतावनी जारी गरेको थियो।
यद्यपि अक्टोबरमा रुडेन्कोले युक्रेन युद्ध समाप्त भएपछि रुससँगको सम्बन्ध सामान्य बनाउन चाहेको सङ्केत सियोलबाट मस्कोले प्राप्त गरेको बताएका थिए। दुवै पक्षले सिधा उडान पुनः सुरु गर्ने विषयमा छलफल गरिरहेको पनि उनले बताएका थिए। युक्रेनी गुप्तचर निकायले आफ्नो प्रतिवेदनमा उत्तर कोरियाली सेनाको ११औँ कोरका एकाइहरूले रुसको कुर्सक क्षेत्रमा सेवा जारी राखेको उल्लेख गरेको छ।
यसैबीच गर्मीयामको मध्यदेखि नै उत्तर कोरियाली सेनाको एक संयुक्त क्षेप्यास्त्र एकाइ रुसको भोरोनेझ ओब्लास्टमा रुसको ११२औँ क्षेप्यास्त्र ब्रिगेडको हिस्साका रूपमा तैनाथ गरिएको छ। भर्खरै नोभेम्बर ७ मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनी ऊर्जा केन्द्रमा केएन-२३ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका थिए। यति मात्र होइन, पछिल्ला हप्ताहरूमा दुई राष्ट्रबीच कूटनीतिक सम्पर्कहरू पनि जारी रहेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘व्यापक रणनीतिक साझेदारी’ अन्तर्गत उत्तर कोरियासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। सन् २०२४ मा हस्ताक्षर गरिएको उक्त सम्झौतामा पारस्परिक रक्षाको प्रावधान समेत समावेश छ।
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल
२०८३ मंसिर १२
ताजा नेपाल