Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई बैंक भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेशनलबाट दुई विधामा सम्मानित भएको छ। भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको हो।

ग्राहकका बदलिँदा आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नवीन प्रविधिमा आधारित भिसाअन्तर्गतका बैंकिङ सेवा विकास तथा विस्तार गरेको योगदानको कदर गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ।

डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराउने कार्यमा पुर्‍याएको योगदानका आधारमा बैंक सम्मानित भएको हो।

ग्लोबल आइएमई बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’ र सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ को उपाधि पाएको थियो। यस्तै, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ।

यसैगरी, बैंकले सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’, सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ अवार्डसमेत हासिल गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमईका हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन्। बैंकले विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक बैंकिङ माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।