Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको खोपले जगायो आशा

वासिङ्टन । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको औषधि पत्ता लाग्ने आशा गरिएको यतिका समयसम्म पनि विज्ञानले कोरोनालाई पराजित गर्न सकेको छैन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ । अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोनाभाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ । मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ । खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोनाभाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो । उल्लेखनीय कुरा के भने दुबै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो । वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन । मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् । –एएफपी