Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपाले प्राविधिक छानबिन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्।

सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि पार्टीको अनुशासन आयोगले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको छ। समितिका संयोजक तथा आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले पत्रमार्फत अडियोमा सुनिएको आवाज आफ्नो नभएको जिकिर गरेका छन्। पत्रमा उनले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा पनि समेटिएको छ।

अडियो सार्वजनिक भएपछि सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको विषय उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक आरोपहरू झुटा भएको र प्रविधिको दुरुपयोग गरेर आफूविरुद्ध प्रचार गरिएको दाबीसमेत गरेका थिए।

सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले थप प्रमाण जुटाउने प्रक्रिया अघि बढाएको छ। समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकाबाट सम्पादन गर्नुअघिको अडियो प्राप्त गरेको भट्टराईले जानकारी दिए। त्यस्तै, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्यूज २४ लाई पत्राचार गरिएको उनले बताए।

समितिले प्राप्त अडियोको आन्तरिक परीक्षण गर्ने र आवश्यक परे सम्बन्धित निकायमार्फत प्राविधिक जाँच गराउने तयारी गरेको छ। प्राविधिक परीक्षणपछि सुनारसँग सोधपुछ गरिने भट्टराईले बताए। परीक्षण प्रक्रियामा लाग्ने समयका कारण अनुसन्धान टुंग्याउन केही ढिलाइ हुन सक्ने उनको भनाइ छ।

सुनारको लिखित इन्कारी र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धान थप जटिल बनेको समितिको भनाइ छ। यद्यपि, आवश्यक प्रमाण संकलन र प्राविधिक परीक्षणसहित छानबिनलाई छिट्टै टुंग्याउने प्रयास भइरहेको जनाइएको छ।

विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।