Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरेलु महिला श्रमिक लैजाने कतारको जोड

काठमाडौं । नेपाली श्रमिकको ठूलो गन्तव्यका रुपमा रहेको कतारले श्रम सम्झौता पुनरावलोकनमा खासै चासो दिएन । कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा सामान्य छलफल मात्रै भएको छ। श्रम सम्झौता पुनरवलोकनका लागि भने कतार तयार नभएको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कतारी राजासँगको भेटमा त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र सीप विकासको विषयमा कुरा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताए। नेपालले १९ वर्षपहिलेको नेपाली जनशक्ति रोजगारीसम्बन्धी सम्झौता शेख तमिमको नेपाल भ्रमणको अवसरमा पुनरवलोकन गर्न चाहेको थियो। तर, कतारले नेपालको प्रस्तावअनुसार तत्कालै हस्ताक्षर गर्न अरूचि देखायो। ४ लाख बढी नेपाली श्रमिक रहेको कतारमा उनीहरूको हक अधिकारको विषय सामान्य छलफलमै सीमित भएको छ। १९ वर्ष पहिले नेपाली जनशक्ति लैजान दुई पक्षीय सम्झौता भएको थियो। तर, अहिलेको अवस्थामा यो समयसापेक्ष नरहेको भन्दै यसलाई पुनरवलोकन गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो। नेपालले पठाएको बुँदागत प्रस्तावप्रति कतारले अनिच्छा व्यक्त गरेको थियो। अहिले राजाको भ्रमणमै नटुंगिए पनि दुई पक्ष बसेर थप छलफल गरिसकेपछि यो विषय टुंगिने नेपालको अपेक्षा छ। नेपालले कतारसँग सम्झौता पुनरवलोकनसँगै नेपाली श्रमिकलाई गरिने व्यवहार त्यहाँका नागरिकसरह नै हुनुपर्ने र नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्नुपर्ने विषय उठाउन चाहेको छ। यी विषयलाई सम्झौतामै सुनिश्चित गर्न नेपालले पहल गरिरहेको छ। बुधबार शेख तमिम र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले बताए। कतारमा अहिले श्रम क्षेत्रमा धेरै सुधार भइसकेको जवाफ पनि कतारी पक्षले दिएको थियो। यस्तै नेपालसँग कतारले महिला घरेलु कामदारहरू लैजाने इच्छा भने व्यक्त गरेको थियो।नेपालको दुई दिने भ्रमण सकेर कतारी राजासहितको टोली बुधबार नै स्वदेश फर्किसकेको छ। श्रमिकका विषयमा ठोस सम्झौता हुन नसके पनि विभिन्न विषयमा ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।


सम्बन्धित समाचार