Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घेराबन्दीमा पर्दैछन् सभापति देउवा

काठमाण्डौ । एक पटक पदमा पुगेका नेतालाई त्यही पटमा टिकिरहन मन लाग्ने रोगले नेपाली राजनीतिक ग्रस्त छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गएको छ । त्यहाँभित्र गुट निर्माण र एकले अर्कोलाई सक्ने खेल भित्रभित्रै भुसको आगो झैं फैलिइरहेको छ । १३ औँ महाधिवेसनमा शेरबहादुर देउवालाई सभापति बनाउन खटिएका नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ अहिले उनीसँग टाढा हुँदैछन् ।

नहुन पनि कसरी १३ महाधिवेशनमा निधिसँग देउवाले १४ औं महाधिवेशनमा सभापति बनाउने बाचा गरेका थिए । तर सहमति कार्यान्वयन नगरी दुवैले सभापतिमा दाबी गर्दा फेरि एक पटक नेपाली कांग्रेसलाई हाँक्ने योजनामा रहेका देउवाको मुश्किल बढेको छ । ती दुईको साथ बीना फेरि सभापति बन्न नसक्ने ठम्याइ देउवाको छ । निधि सम्पर्क कार्यालय खोलेरै सभापतिको दौडमा निस्किएपछि उनलाई मनाउन नसकिने देउवा खेमाले बुझिसकेको छ । गोपालमानलाई अझै पनि फकाउन सकिने सुझाव उनी निकट नेताको छ । तर, देउवाले आफ्नो खेमामा निधि र श्रेष्ठ दुवैको अभाव पुरा गर्न सक्ने क्षमता भएको नेताका रुपमा कृष्ण सिटौलालाई रोजेका छन् ।

१३ औँ महाधिवेसनमा सभापतिको प्रारम्भिक चरणबाट बाहिरिएपछि सिटौलाले देउवालाई सभापति बन्न सहयोग गरेका थिए । त्यही कारण उनी अहिले पनि सिटौलालाई आफ्नो पक्षमा पार्न सकिने कुरामा विश्वस्त छन् । त्यसका लागि देउवाले १४ औँ महाधिवेसनमा सभापतिमा जितेपछि सिटौलालाई कार्यवाहक सभापति बनाएर आफूले सरकार चलाउने आश्वासन समेत दिइसकेका छन् । देउवाको प्रस्तावमा सिटौला सकारात्मक रहेको उनी निकटका नेताहरु बताउँछन् । कहिले देउवा त कहिले वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा उभिए जस्तो गर्ने नेता सिटौला चुनाव लडे पनि सभापतिमा जित्न नसकिने कुरामा भने ढुक्क छन् ।

त्यसैले देउवाको प्रस्ताव उनका लागि सुनमा सुगन्ध भएको छ । फेरि नेपाली कांग्रेसमा कार्यवाहक सभापति बनाइनु नौलो कुरा पनि होइन । पञ्चायत कालमा वीपी कोइराला निर्वासनमा भारतमा रहँदा सुवर्ण समसेर राणाले कार्यावाहक सभापतिका रुपमा नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । त्यही बेलादेखि कांग्रेसमा कार्यवाहक सभापतिको प्रचलन सुरु भएको हो । पछि स्वास्थ्य खराब भएपछि वीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।