Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। घोराही सिमेन्टले मंगलबारदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर जारी गर्ने भएको हो।
हाल कम्पनीको जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेको छ। कम्पनीले यसको कुल २० प्रतिशतले हुन आउने ७९ करोड ४३ लाख ८० हजार १०० बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर जारी गर्ने कम्पनीले जानकारी दिएको छ।
उक्त सेयरमध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख १९ हजार बराबरको ३ लाख ९७ हजार १९० कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।
कम्पनीले प्रभावित क्षेत्रमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १,२,३, ४, १४, १५, १७, १८, १९, दाङ जिल्लाको बंगलाचुली गा.पा. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ लाई समेटेको छ।
सो सेयर खरिदका लागि उद्योग प्रभावित क्षेत्रका स्थानीयले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
स्थानीय बासिन्दाका लागि छुट्याएको सेयरमा पर्याप्त आवेदन नपरे बाँकी रहेको सेयर सर्वसाधरणमा जारी गरिने सेयरमा थप गरी बिक्री गरिने छ।
यस्तै कम्पनीले मंगलबारदेखि सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि बिक्री गर्नेछ।
कम्पनीले ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको ७ लाख ५४ हजार ६६१ कित्ता सेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको छ।
श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुले उक्त सेयर खरिदका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। उक्त समय सम्म पर्याप्त आवेदन नपरे उद्योग प्रभावित क्षेत्रका स्थानीयको हकमा भने जेठ २ गतेसम्म आवेदन अवधि थप हुने कम्पनीले जानकारी दिएको छ ।
प्रक्षेपित वित्तीय विवरण अनुसार हाल कम्पनीको प्रति सेयर नेटवर्थ २७९.९२ रुपैयाँ, प्रति सेयर आम्दानी ११.६५ रुपैयाँ र जगेडा कोष तथा संचित नाफा ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ।
यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल