Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नम्बर–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै पुस २ मा राति बुवाले छोराको हत्या गरे । राति १० बजेर १५ मिनेटमा अछाम घर भएका ६३ वर्षीय दिपबहादुर शाहीले छोरा नरेन्द्रको हत्या गरेका हुन् नरेन्द्र शाही ३१ वर्षका थिए । पत्नीसँग भारतको बम्बईमा काम गर्ने नरेन्द्र मिर्गौला सम्बन्धी समस्या देखिएपछि १ वर्षअघि नेपाल फर्किएका हुन् । पत्नी बम्बईमै बस्थिन् । दुधपाटीस्थित अंग प्रत्यारोपण केन्द्रमा चेकजाँच गर्दा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारसँगको सल्लाहमा अस्पताल नजिकै डेरा लिए । एउटा कोठा लिएर बुवालाई पनि ल्याएर राखे । उनको ६ वर्षीय र १५ महिनाको छोरालाई पनि भक्तपुरमा ल्याए । बुवाले उनलाई मिर्गौला दिने कुरा भयो । अस्पतालमा चेकजाँच गर्दा ‘म्याच’ भएपछि प्रत्यारोपण गर्ने मिति यकिन भयो । प्रत्यारोपणको दिन नजिकिँदै थियो । अछामबाट आमालाई बोलाए । चार दिनअघि मृतक नरेन्द्रकी आमा भक्तपुरमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘मिर्गौला प्रत्यारोपणकै लागि लगनखेल बस्ने २२ वर्षीय नरेन्द्रको सालो र साढुदाई पनि मङ्गलवार उनीहरूको डेरामा आएको देखिन्छ ।’ मिर्गौला प्रत्यारोपणका लागि बुवा र छोरा दुवै जना अस्पताल भर्ना हुनुपर्ने थियो । तर, त्यसअघि पनि बुवाले मिर्गौला दान गर्न आनाकानी गरेपछि अस्पतालबाट मिति सारिएको थियो । प्रत्यारोपण गर्ने विषयमा विवाद हुँदा बुवाले अचानक छोराको छातीमा चक्कुले प्रहार गरेको डीएसपी ढुण्डिराज न्यौपानेले बताए । उनले भने, मिर्गौला प्रत्यारोपणको विषमा विवाद हुँदा चक्कु प्रहार गरेर हत्या गरेको देखिन्छ ।दिपबहादुरले सुरुमा खाना खाँदै गरेको छोराको छातीमा प्रहार गरे । मृतकको साढुभाई र सालाले छुट्ट्याउन खोजेका थिए । तर, उनीहरूलाई पनि दिपबहादुरले आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । डीएसपी न्यौपाने भन्छन्, मृतकको सालोलाई प्रहार गर्न खोज्दा चक्कु भाँचिएको उनीहरूको भनाई छ । तत्कालै मिर्गौला प्रत्यारोपण गर्ने शाही परिवारको योजना दुःखान्तमा परिणत भएको छ । ६३ वर्षको उमेरमा दिपबहादुर आफ्नै छोराको हत्या गरेको कसुरमा हिरासतमा पुगेका छन् । उनीबिरुद्ध ज्यानसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल