Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार महिने उपचारपछि स्वस्थ भए वर्षमान

काठमाडौँ । जटिल प्रकृतिको जण्डिसबाट पीडित माओवादी नेता वर्षमान पुनः स्वास्थ्य लाभ गरी चीनबाट फर्किएका छन् । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका हुन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी हुन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो । उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो । चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन तन्दुरुस्त देखिएका छन् । हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए । चिकित्सकहरुका अनुसार सामान्यतः स्वस्थ मानिसको शरीरमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । त्यो भन्दा बढी भएका जन्डिस भएको मानिन्छ । तर, पुनको शरीरमा भने सामान्य अवस्थामा पनि बिलरुबिनको मात्रा ११–१२ बिन्दु रहने गरेको थियो ।
यसअघि पुनको थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएको थियो । तर, थाइल्यान्डको उपचार विधिले काम नगरेसँगै स्वास्थ्य अवस्था नाजुक भएपछि ०७८ मंसिरमा पुनलाई बैंककबाट एयर एम्बुलेन्समार्फत सिधै चीनको सेनजेन लगिएको थियो । बिलरुबिन नियन्त्रित अवस्थामा रहेपछि स्वदेश फर्किएका पुनको स्वास्थ्य गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको धपेडीका कारण पुनः बिग्रिएको थियो । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन अस्वस्थताका कारण चुनावी गतिविधिमा समेत संलग्न हुन सकेका थिएनन् ।