Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत झस्कियो

काठमाडौं । दुई छिमेकीलाई रिझाएर बस्नु नेपालका लागि ठूलै सन्तुलन चाहिन्छ । तर भारत र चीन नेपालसँग जहिल्यै सशंकित हुने गरेको छ । चीनियां विदेशमन्त्री वाङ्ग यीले नेपालको अकस्मिक भ्रमण गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को छिमेकी मुलुक भारतको औपचारिक भ्रमण तय भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि चैत १८ मा नयाँ दिल्ली जाँदैछन्। भारतमा रहँदा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिकरुपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा बनारसको भ्रमण गरेर चैत २० गते स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको एजेण्डामा भारतको शंका निवारण प्रमुख एजेण्डा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। केही दिनअघि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएका बेला चीनले नेपालमा प्रभाव बढाएको हुन सक्ने कुरामा भारत सशंकित छ। चीन पनि नेपालको आन्तरिक राजनीतिमा गम्भीर चासो राखेर केही समयदेखि सक्रिय रहँदै आएको सन्दर्भमा चिनियाँ विदेशमन्त्रीको आकस्मिक नेपाल भ्रमणले भारतमा थप शंका उत्पन्न भएको छ। चिनियाँ मन्त्रीको भ्रमणको प्रभाव र असरलाई कम गर्न भारतले हतार गरेर नेपालका प्रधानमन्त्री देउवालाई तत्कालै भ्रमणमा निम्तो गरेको हो।
प्रधानमन्त्री देउवा अहिलेको कार्यकालमा भारत भ्रमणमा जान लागेको पहिलो पटक हो। यसअघि जनवरीको दोस्रो साता हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल इन्भेस्टमेन्ट समिटमा प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम थियो। तर, त्यतिबेला भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि समिट स्थगित गरियो। समिट नै स्थगित भएपछि देउवाको भारत भ्रमण पनि रद्द भएको थियो। स्रोतका अनुसार, प्रधानमन्त्री देउवाको भ्रमण मे को पहिलो साताका लागि तय गर्ने गृहकार्य भइरहेको अवस्थामा चीनका विदेशमन्त्री नेपाल आएपछि भारतले देउवालाई तत्काल आउन निम्तामात्र होइन दवाव पनि दिएको थियो। भारतीय प्रस्तावमा देउवाले सहमती जनाएपछि उनको मे महिनाका लागि गरिने भनेको भ्रमण अगाडि सारिएको हो।
नेपालले हालै अमेरिकाको एमसीसी परियोजना अनुमोदन गरेसँगै नेपालसँगको सम्बन्ध बिग्रिन सक्ने आशंकामा सम्बन्ध सुधार गर्ने उद्देश्यसहित चिनियाँ विदेशमन्त्री नेपाल आएका थिए। तर, यो भ्रमणले उता भारतलाई तर्साइदिएको छ। चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका बेला वाम गठबन्धन गर्ने विषयमा छलफल भए नभएको खुलेको छैन। तर भारत नेपालमा चिनियाँ प्रभाव नबढोस् भन्नेमा सचेत छ। नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्नुपूर्व चीनले एमसीसी रोक्ने प्रयास गरेको थियो। तर संसदबाट अनुमोदन भइसकेपछि नेपालसँगको सम्बन्ध बिग्रिन्छ कि भनेर विदेशमन्त्री वाङ अचानक नेपाल भ्रमणमा आएर सम्बन्ध सुमधुर बनाउने प्रयास गरेका थिए। चिनियाँ विदेशमन्त्री स्वदेश फर्किएको भोलिपल्ट प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको थियो ।

चिनियाँ विदेशमन्त्री भारत हुँदै नेपाल आएका थिए। चीन नेपालमा राजतन्त्र उन्मुलनपछि त्रिदेशीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा भारत, नेपाल र चीन रहेको त्रिदेशीय संयन्त्र बनाउने प्रस्तावमा प्रचण्डले समर्थन गरेका थिए । तर उनको सरकार लामो समय टिक्न सकेन। चीनको उक्त प्रस्तावमा भारतको भने सहमती थिएन । त्यसपछि उक्त प्रस्ताव अघि बढ्न सकेको छैन । चीनले एक अर्काको विकासमा सघाउन उक्त संयन्त्र आवश्यक रहेको बताउँदै आएको छ।