Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र घरैमा नजरबन्द

काठमाडौं । संसदको समयावधि सकिएपछि सर्वोच्च फर्किन तयार रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् । राणाले भने, म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ । संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् । उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् ।

राणाले आइतबारदेखि नियमित काममा फर्किने सूचना सर्वोच्च प्रशासनलाई पठाएका थिए। शनिबार मध्यरातदेखि महाभियोग प्रस्ताव निष्क्रिय हुने भएको भन्दै उनले आइतबारदेखि काममा फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गरेका थिए। नियमित काममा फर्किन खोजे पनि आफ्नो निवासअगाडि सुरक्षाकर्मी तैनाथ गरेर सर्वोच्चसम्म पुग्ने वातावरण नबनाइदिएको राणाले बताए। म ११ बजे आउँछु भनेर भनेको थिएँ। सरकारले जानसक्ने वातावरण नै बन्न दिएन, राणाले भने, क्वार्टरको गेटमै सुरक्षाकर्मी लगाएर ताल्चा लगाइएको छ। बाहिर जानै नदिने बनाइएको छ। त्यही भएर क्वार्टरबाट बाहिर निस्कने अवस्था छैन। संविधानको हिसाबले महाभियोग टुंगिएको उनको तर्क छ। महाभियोग टुंगिएकोले आफू नियमित काम गर्न सर्वोच्च फर्कन चाहेको उनले बताए। संविधानको हिसाबले महाभियोग प्रस्ताव टुंगिएको छ। यो प्रतिनिधिसभाले आफ्नो कार्यकालभित्रै मेरो महाभियोगको प्रस्ताव टुंग्याउनुपथ्र्यो। टुंग्याउन नसकेपछि यो महाभियोगको प्रस्ताव संविधानअनुसारनै निष्क्रिय भइसक्यो, राणाले भने, टुंग्याउन नसकिएका प्रस्तावहरू निष्क्रिय हुन्छ भन्ने कुरा संविधानले नै भनिसकेपछि महाभियोगको प्रस्ताव निष्क्रिय नहुने कुरा नै रहेन। प्रस्तावभित्रै महाभियोगको प्रस्ताव पनि पर्ने भएकाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै त्यो पनि निष्क्रिय भएको उनको तर्क छ। महाभियोगको प्रस्ताव निष्क्रिय भइसकेपछि प्रधानन्यायाधीशलाई काम गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने राणाले जिकिर गरे।