Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनता शोकमा रहेकाले प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने नेताहरूले बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बाढीपहिरोले जनता शोकमा रहेकाले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । असोज ११ र १२ गते आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । जनता शोकमा रहेकाले यसपटक पार्टीको तर्फबाट चियापान कार्यक्रम हुनेछैन, मंगलबार रातोपार्टीसँग गौतमले भने । एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान समारोह राख्दै आएको थियो ।

यस्तै प्रमुख सत्ता घटक नेपाली कांग्रेसले पनि चियापान नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हरेक वर्ष पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट हुने चियापान कार्यक्रम स्थगित गरिएको माओवादीले एक परिपत्रमार्फत जनाएको छ ।