Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनार्दनलाई पन्छाएर महासचिव बन्दैछन् वर्षमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र महासचिवको प्रतिस्पर्धामा रहेका वर्षमान पुन र जनार्दन शर्माबीचको लडाइँ बजेट विवादको मौका छोपेर वर्षमानले उछिट्याउने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पदाधिकारी चयनको अन्तिम तयारीमा जुटेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा दाहालमाथि तत्काल पदाधिकारी चयन गर्न दबाब छ । पार्टीका नेताहरुले नै यस्तो दबाब दिएपछि दाहालले आजको केन्द्रीय कमिटी बैठक स्थगित् गरेर सचिवालयको बैठक राखेका थिए । सो बैठकमा पदाधिकारी चयनदेखि स्थायी कमिटी र पोलिटब्यूरो गठनबारे छलफल भएको थियो । बैठकले अध्यक्ष दाहाललाई पदाधिकारी चयन गर्नेबारे जिम्मा दिएको छ । दाहालले भोलिसम्ममा नै पदाधिकारीको नाम टुँगो लगाउने एक नेताले जनाए । ती नेताका अनुसार दाहालले महासचिवमा वर्षमान पुनलाई अघि बढाउने निधो गरेका छन् ।
महासचिवका अर्का दाबेदार अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा विवादमा तानिएको र सत्तारुढ दलबाटै राजीनामा मागिएकोले दाहालले पुनलाई महासचिव बनाउने तयारी गरेका छन् । दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्माको निरन्तरताको लागि आग्रह गरेका छन् । र, प्रधानमन्त्री देउवा पनि दाहालको आग्रहमा सकारात्मक सुनिएका छन् । दाहालले यदि शर्मा अर्थमन्त्रीबाट हट्नुपर्ने अवस्था आए उनको ठाउँमा वर्षमान पुनलाई नियुक्त गर्ने र शर्मालाई पार्टीको महासचिव बनाउनेगरि पनि मुभ गरेका छन् । माओवादीमा अहिले संगठनलाई चलाउनसक्ने नेताको रुपमा पुन र शर्मा नै देखिएका छन् । दाहाललाई यी दुईमध्ये एक छान्नपनि सकस नै छ । यही सकसको कारण नै महाधिवेशन भएको यतिका महिना बित्दापनि पदाधिकारी चयन हुन नसकेको कतिपय नेताको आरोप छ ।