Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यसपछि मात्रै अघि बढ्नेछ एमाले

काठमाडौँ । सत्ताका लागि आवश्यक संख्या पुग्ने हिसाव किताव मिलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि व्यस्त छ । सत्ता गठबन्धनका दललाई दायाँ बायँ पार्न सक्दा सत्तामा पुग्न सकिने हिसाव किताव एमालेले निकालिरहेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले सरकार निर्माणमा सत्ता गठबन्धनको रणनीति कुर्ने भएको छ । निर्वाचनको हालसम्मको परिणाममा सत्ता गठबन्धन बहुमतनजिक रहेकाले एमाले अन्तिम नतिजा आइसकेपछि मात्रै निर्णय गर्ने तयारीमा छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीका विषयमा सहमति हुन नसक्ने अवस्था सिर्जना भए एमालेको नेतृत्वमा अर्को समीकरण बन्ने सम्भावना छ । यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने देउवा र दाहालबीच सहमति हुन बाँकी छ । उनीहरूबीच सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अन्य दलको समीकरण बन्न सक्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् । प्रधानमन्त्री देउवा सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउने प्रयासमा छन् । सत्ता गठबन्धनकै सहयोगमा रौतहटबाट जितेका प्रभु साह र किरण साहसँग पनि गठबन्धन नेताहरूले संवाद अघि बढाएका छन् । एमालेले पनि दलहरूसँग संवाद भने बढाएको छ । सरकार बनाउन सत्ता गठबन्धनको दौडलाई एमालेले टाढैबाट नजर मात्र लगाएको बताइन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंसिर ८ मा टेलिफोनबाट बधाई साटासाट भएको थियो । त्यसयता दुई नेताबीच थप कुराकानी अघि बढेको छैन । एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच अनौपचारिक कुराकानी भने निरन्तर छ । कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनलाई कमजोर हुन नदिन देउवा र दाहाल निरन्तर प्रयासमा छन् । यी दुई नेता गठबन्धनलाई बहुमत जुटाउन कसरत गरिरहेका छन् । त्यही कसरतस्वरूप उनीहरू प्रत्यक्षतर्फ ४ सिट जितेको नागरिक उन्मुक्ति पार्टीलाई फकाउनेदेखि सीके राउतलाई गठबन्धनमा ल्याउनेसम्मका प्रयासमा छन् । नागरिक उन्मुक्तिले भने पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन गठबन्धन तयार नभएसम्म सरकारमा सहभागी नहुने बताइसकेको छ । एमाले, माओवादी र अन्य दलबीचको सहकार्यमा सरकार निर्माण गर्ने अन्तिम र कठिन सम्भावना पनि छ । समानुपातिकमा माओवादीको मत ०७४ भन्दा खासै नघटे पनि अपेक्षित रूपमा प्रत्यक्षमा जित्न सकेको छैन । उसले बिहीबारसम्म प्रत्यक्षतर्फ १७ सिट जितेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताहरू वाम गठबन्धन हुनुपर्ने पक्षमा छन् । तर, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको यसमा खासै रुचि देखिएको छैन । एमाले र माओवादी नेताहरूका अनुसार ओली र दाहालको स्वार्थ नमिल्दासम्म मिल्ने सम्भावना छैन ।