Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैं अगाडि भाडा नबढ्ने

काठमाडौं । भाडा बढाउने अडान राखेर व्यवसायीहरुले सरकारलाई धम्क्याइरहेको बेला सरकारले दशैं अगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ । दशैं, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उनको भनाइ छ ।

सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका पार्टपूर्जा, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ । राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताए ।
विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उनको जोड छ । ७ वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन, यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन, सिटौलाले भने ।