Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ। गत शुक्रबारको मन्त्रिपरिषद् निर्णयअनुसार सचिवहरूको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार मन्त्रालय पुनर्संरचना अघि वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समन्वयको जिम्मेवारी दिइएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। उपराष्ट्रपति कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ।
पुस्करले ‘चेन अफ कमाण्ड’ मिचेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि उनलाई गत बिहीबार प्रहरीले ७ घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
नेपाल ट्रस्टको कार्यालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ।
जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि घिमिरे निलम्बनमा परेका हुन्। पर्यटन मन्त्रालयमा सहसचिव हुँदा कर छुटसम्बन्धी अनियमिततामा संलग्न भएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवका रूपमा सरुवा गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
सरुवा भएका सचिवहरूले पत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले कार्यसञ्चालन नियमावलीमार्फत मन्त्रालयको संख्या २२ बाट घटाएर १८ बनाएपछि गाभिएका मन्त्रालयका सचिवहरू सरुवामा परेका हुन्।
नाम परिवर्तन नभएका मन्त्रालयमा कार्यरत सचिवहरूलाई भने सम्बन्धित मन्त्रालयमै पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल
२०८३ जेष्ठ २५
ताजा नेपाल