Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको रणनीतिमा हराए महामन्त्री

काठमाडौं । पार्टी संस्थापनविरुद्ध विद्रोह गर्नु चानचुने कुरो होइन । त्यो विद्रोह त्यति सजिलै सफल हुँदैन । ११ महिनापछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई चुनौती दिने खालको थियो। पहिलो पटक बैठक प्रत्यक्ष प्रसारण गरेका देउवालाई महामन्त्री थापाले पावर प्वाइन्टबाटै संगठन कसरी व्यवस्थित बनाउने र पार्टी सञ्चालन गर्ने भनेर एक वर्षे कार्यतालिका देखाइदिए। धुम्बाराही निवासबाटै पार्टी चलाइरहेका देउवाका लागि महामन्त्री थापाले पार्टी चलाउन सानेपा पुग्नुपर्ने बाध्यात्मक व्यवस्था अघि सारेका थिए। उनको प्रस्ताव निर्णय गरेर कार्यान्वयनमा लैजान सके सभापति देउवा होइन, महामन्त्री थापा पार्टीमा हाबी हुने प्रष्ट देखिन्छ। कांग्रेस विधान अनुसार अहिले पार्टी चलेको थिएन। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक झण्डै एक वर्ष बस्न सकेको थिएन। भ्रातृ र शुभेच्छुक संगठनमा नेतृत्व छैनन्। भएकाहरु पनि अपूर्ण छन्। नेताहरु के कार्यक्रम लिएर गाउँ जाने, अन्योलमै छन्। अर्थात् कांग्रेस भद्रगोल भएर चलिरहेको छ। यसको समाधान गर्ने उपायसहित थापाले ल्याएका दुरगामी महत्वका कार्यक्रमले केन्द्रीय कार्यसमिति सदस्यहरुको मन जित्नुपर्ने हो। पार्टीलाई किसानसँग जोड्ने, नेताहरु पार्टी काममै केन्द्रित हुनुपर्ने, नेतालाई बौद्धिक बनाउने कार्यक्रमहरु उनले अघि सारेका थिए। केन्द्रीय सदस्यहरुले महामन्त्री थापालाई साथ दिँदै पार्टीलाई फाइदा गर्ने यस्तो योजना कार्यान्वयनका लागि सभापति देउवालाई दबाब दिनुपर्ने हो। तर, त्यसो भएन। ३ गतेदेखि सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको एजेन्डा र महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमाथि साउन ४ गतेदेखि केन्द्रीय सदस्यले बोल्न सुरु गरेका थिए। तर, अधिकांश नेताहरु सभापतिको बचाउमा उत्रिए। शक्तिशाली प्रतिवेदन ल्याए पनि थापाको योजनालाई थोरै नेताले मात्र समर्थन गरे। बढीजसो केन्द्रीय सदस्यले देउवाको बचाउ र महामन्त्रीद्वयको आलोचनामा अधिकांश समय खर्च गरे। केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री ‘चरी जेलैको’ अवस्थामा रहेको बताए। गण्डकीका मुख्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्रीले सभापतिलाई चुनौती दिन नसक्ने ठोकुवा गरे। केन्द्रीय सदस्य सीतादेवी देवकोटाले देउवाको बचाउ मात्रै गरिनन्, चेतावनी नै दिइन्। केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति र महामन्त्रीबीच द्वन्द्व बढेको बताए। स्वास्थ्यमन्त्री समेत रहेका मोहन बस्नेतले महामन्त्री थापालाई गुटले नपत्याएको युवा नेता भनेर टिप्पणी गरे। केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि देउवाकै पक्षमा उभिए। सहमहामन्त्री भीष्मराज आङ्देम्बेले त दुई महामन्त्रीको लोकप्रियता घटेको घोषणा गरिदिए। केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीकै विकल्प खोज्ने चुनौती दिइन्, सभापति संस्था हो। हिजो अरु कोही हुनुहुन्थ्यो, आज देउवा हुनुहुन्छ। महामन्त्री र अरु नेताहरु सभापति खराब र अनिर्णयको बन्दी, तर हामी असल भन्दै हुनुहुन्छ। केन्द्रीय सदस्य नैनसिंह महरले सभापति, उपसभापति, महामन्त्री लगायत पदाधिकारीको धारणा फरकफरक आउँदा कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको बताए। नेता विमलेन्द्र निधिले पार्टीको नीति नयाँ बनाउनुपर्ने मत राखे। उनको मत पनि देउवाकै पक्षमा थियो। केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि महामन्त्रीप्रति नै असन्तुष्टि जनाए। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सभापतिको काममा महामन्त्री चुप लागेकोप्रति कडा प्रतिवाद गरे। नेता राधा घलेले पार्टीभित्र व्यक्ति बलियो बन्ने अभ्यास भइरहेको बताइन्। उपसभापति धनराज गुरुङले सभापतिलाई बदल्न नसक्ने भन्दै आफैँ बदलिने घोषणा गरे। केन्द्रीय सदस्यहरुको साथ नपाएपछि महामन्त्रीद्वय केही हदसम्म रक्षात्मक बन्नुपरेको थियो। उनीहरु पहिलेजसरी आक्रामक रुपमा प्रस्तुत भएनन्। सोमबार उनीहरुले (८ साउन) नेताहरुले उठाएको प्रश्नको जवाफ उनीहरुले दिएका थिए। महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले देउवालाई गाली नगरेको स्पष्टीकरण दिए। महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आफूहरुलाई सहभागी नगराइएको गुनासो गर्दै केन्द्रीय सदस्यहरुले गरेको आलोचना स्वीकारे। उनले आफूहरुले पार्टीको हितका लागि काम गरिरहेको उनले बताए। संसदीय दलको नेता फेर्न भने लागिरहने उनको अडान थियो। उनले ठट्टामिश्रित लवजमा पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले अब अरुलाई अघि सार्नुपर्ने पनि बताए। सभापति देउवाले जवाफ दिएपछि कांग्रेसको बुधबार बैठक सक्ने तयारी छ। सात दिनसम्म चलेको बैठकले के कस्ता निर्णय गर्ला, अझै निश्चित भइसकेको छैन। तर, केन्द्रीय सदस्य आफ्नै पक्षमा खुलेबाट देउवा उत्साहित देखिएका छन्। उनले मंगलबार पनि पदाधिकारीलाई धुम्बाराही निवासमा बोलाएर छलफल गरे। थोरै बोल्ने देउवा रणनीतिमा माहिर छन्। तर, पार्टीलाई नयाँ ढंगले अघि बढाउन खोजेका महामन्त्रीद्वयले भने अझै मेहनत गर्नुपर्ने शिक्षा दिएको नेताहरु बताउँछन्।


सम्बन्धित समाचार

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा

२०८१ फाल्गुन २७

ताजा नेपाल

सुनको मूल्य घट्यो

२०८१ फाल्गुन २७

ताजा नेपाल

ओलीले बोकेर चम्किएको राप्रपा

२०८१ फाल्गुन २७

ताजा नेपाल