Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा माने पनि बटारिए शेखर

काठमाडौँ । सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस कहीं छ भने त्यो भरतपुर महानगरपालिका नै हो । सत्तारूढ गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व लिने विषयलाई राजनीतिक ‘प्रतिष्ठा’ बनाउँदा गठबन्धनको भविष्यमाथि संशय उठ्न थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र र गृहनगर भएकाले भरतपुर महानगरमा माओवादीको नेतृत्व हुनुपर्ने अडान राख्दै आएका छन् । दाहालले आफ्नो राजनीतिक प्रभाव जोगाइराख्न छोरी रेनु दाहाललाई मेयरमा दोहोर्‍याउने चाहना राखेको माओवादी नेताहरू बताउँछन् । त्यसका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तयार भए पनि नेता शेखर कोइराला र उनको समूह मान्न तयार भएको छैन । देउवाले पार्टीका नेताहरूसँग स्थानीय तहपछि आउने संघ र प्रदेशको चुनावसम्मै गठबन्धन गर्ने वातावरणका लागि दाहालको प्रस्ताव मानेर जानुपर्ने बताउँदै आएका छन् । चितवनमा माओवादीलाई सहयोग नगर्दा आगामी संघ र प्रदेश तहको निर्वाचनमा एमाले नेतृत्वमा वाम ध्रुवीकरण बन्न सक्ने चिन्ता देउवामा छ । कोइराला पक्षको बाहुल्य रहेको चितवन कांग्रेसले भने मेयर पाउनुपर्ने विषयलाई प्रतिष्ठाको विषय बनाइरहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुरको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने गरी तालमेल भएको थियो । तालमेलअनुसार नै प्रमुखमा माओवादीकी दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ठकुरी विजयी भएका थिए । २९ वडा रहेको महानगरमा माओवादीले ३ वटा वडामा अध्यक्ष जितेको थियो । वडाध्यक्ष जितेको एउटा वडामा माओवादी र एमालेबीच तालमेल भएको थियो । एमालेले सर्वाधिक १४ र कांग्रेसले १२ वटा वडा जितेका थिए । माओवादीसँग चुनावी तालमेल गरेर पहिला प्रमुख पद छाड्दा कांग्रेसमा चुलिएको असन्तोष अहिलेसम्म कायमै छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तहपछि हुने संघ र प्रदेशका चुनावसम्मै तालमेलको वातावरण बनाउन भरतपुर महानगर मुख्य परीक्षा रहेको बताए । चितवनमा आफ्नै पार्टीभित्रको असन्तुष्टिले देउवालाई निर्णय लिन अप्ठ्यारो परिरहँदा दाहालले भने आफ्नो गृहनगर र चुनावी क्षेत्रको महानगरमा दाबी नछाड्ने संकेत गर्दै आएका छन् । आफ्नो जीवनकालमै छोरी रेनुलाई राजनीतिक उत्तराधिकारीका रूपमा अघि सार्ने प्रयत्नमा दाहाल लागिरहेका छन् । रेनुले केही राम्रा काम गरेकाले चुनाव जित्न अघिल्लो पटकको तुलनामा सहज हुने निष्कर्ष पनि उनले निकालेका छन् ।