Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा सके आफैं अघि बढ्ने, नसके कारिन्दा

काठमाडौँ । उमेरले थेग्न नसक्ने बेलामा पनि राजनीतिक दलका नेताहरुलाई पद छाड्न निकै सकस भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर देउवा उक्त बैठक सञ्चालन गर्न स्वास्थ्यले कति साथ दिन्छ, त्यस आधारमा मात्रै आगामी रणनीति तय गर्ने मनस्थितिमा रहेका छन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा २६ गतेको बैठक सञ्चालन गर्न सहज भएमा आफ्नै नेतृत्वमा छिटो नियमित महाधिवेशन गर्ने र असहज भएमा कार्यवाहक दिएर अगाडि बढ्ने मनस्थितिमा आफू रहेको बुझेको बताए । २६ गतेको केन्द्रीय कार्यसमिति बैठक सहजै आफैँले सञ्चालन गर्न सकेमा छिट्टै नियमित महाधिवेशनको मिति घोषणा गरेर नेतृत्व हस्तान्तरण गर्ने सोच उहाँको रहेको मैले बुझेको छु, विश्वकर्माले भने, बैठक सञ्चालन गर्न गाह्रो भयो भने कार्यवाहक दिएर अगाडि बढ्ने विषयमा पनि उहाँ नेताहरूसँग कुराकानीमा रहनुभएको बुझिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा कुटिएका देउवाको गर्दनमा १२ टाँका लगाउनु परेको थियो । सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा लगाइएका टाँका काटिएको छ । अहिले उनी निवासमा आराम गरिरहेका छन् । गहिरो घाउ भएकाले धेरै बोल्न र लामो समयसम्म बस्न अप्ठ्यारो भइरहेको उनको सचिवालयले जनाएको छ । लामो समय अस्पतालमा बसेर दसैँ अगाडि मात्रै निवास फर्किएका देउवाले त्यसपछि अहिलेसम्म भौतिक रूपमा कुनै नेतालाई भेटेका छैनन् । टेलिफोनमा भने नेताहरूसँग पार्टी र समसामयिक राजनीतिबारे कुराकानी गरिरहेको विश्वकर्माले बताए । टेलिफोन कुराकानीका क्रममा देउवाले आफू अब सभापतिमा नदोहोरिने बताउँदै मिलेर नेतृत्व लिने र पार्टी सञ्चालन गर्ने वातावरण निर्माण गर्न नेताहरूलाई आग्रह गरिरहेका छन् । विधान र आफ्नो स्वास्थ्य अवस्थाले अब नेतृत्वमा आफू नरहने बताउँदै देउवाले आफू वैधानिक रूपमा नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताउने गरेका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । उहाँ नियमित महाधिवेशनमार्फत वैधानिक रूपमा पार्टी नेतृत्व हस्तान्तरणका पक्षमा हुनुहुन्छ । नेताहरूलाई टेलिफोनमा त्यही बताइरहनु भएको छ, विश्वकर्माले भने । २६ गतेको बैठकका एजेन्डा औपचारिक रूपमा नटुङ्गिए पनि अनौपचारिक रूपमा पार्टीको १५ औँ महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन स्वीकार गर्ने÷नगर्ने, देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने कि कार्यवाहक दिएर महाधिवेशनमा जाने भन्नेबारे राख्ने विषयमा नेताहरूबिच छलफल भइरहेको छ । देउवाले दबाबमा नेतृत्व छोड्ने पक्षमा आफू नरहेको नेताहरूसँगको कुराकानीमा बताउने गरेका छन् । विधि र प्रक्रिया पुर्‍याएर मात्रै नेतृत्व हस्तान्तरणको पक्षमा आफू रहेको र त्यो जेनजी आन्दोलन अगाडि नै आफूले सार्वजनिक रूपमै बताइसकेको देउवाले नेताहरूलाई भन्ने गरेका छन् । हस्ताक्षर बुझाएकै आधारमा विशेष महाधिवेशन गर्ने पक्षमा देउवा नरहेको उनका निकटवर्तीहरू बताउँछन् । ‘विशेष महाधिवेशन ४० प्रतिशत हस्ताक्षर बुझाएको तीन महिनामा गर्नुपर्ने हो । त्यो भन्दा अगाडि नै नियमित महाधिवेशन हुन्छ किन विशेष महाधिवेशन गर्नुपर्‍यो, मैले नेतृत्व छोड्छु भनेकै छु । मिलाएर नियमित महाधिवेशन गरे भइहाल्यो नि, टेलिफोनमा देउवाको भनाइ रहने गरेको नेताहरू बताउँछन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असोज २६ गते बोलाइएको बैठकमा पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी हुने जानकारी दिए ।


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल