Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। जनमत परिवर्तन भएको छ । परम्परागत राजनीतिक दलको विकल्पमा जनताले नयाँ दल रोजिरहँदा प्रचण्ड नेतृत्वको सरकारमाथि पहिलो प्रहार नहोला भन्न सकिन्न । भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणामको प्रभाव राष्ट्रिय राजनीतिको सतहमा देखिन थालेको छ। रास्वपाको अप्रत्याशीत जित र परम्परागत ठूला पार्टीको निराशाजनक उपनिर्वाचनको मतपरिणामले सत्ता राजनीतिमा पराकम्पन गएको छ। पछिल्लो पटक जनताको जनमतको परीक्षण गर्ने उचित अवसका रुपमा लिइएको उपनिर्वाचनमा सत्तासीन दल र प्रतिपक्षीको समेत उल्लेख्य उपस्थिति नदेखिएपछि राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ। यसको पराकम्पनले सत्ता समीकरणको बदलाव हुने सभ्भावित परिदृश्य देखा परेको छ। बैशाख १० मा सम्पन्न उपनिर्वाचनको मतपरिणामले सत्तारुढ र प्रतिपक्षी दलको सम्मानजनक उपस्थिति नदेखिएपछि ठूला तथा राष्ट्रिय राजनीतिमा प्रभुत्व कायम गरेका दलहरु सशंकित बनेका छन्। यसले सत्ता गठबन्धनभित्रै किचलो उत्पन्न गराएको छ। सरकारको नेतृत्व गरेको माओवादीले उपनिर्वाचनमा कतैपनि उम्मेदवारी दिन नसक्नुलाई राजनीतिक पराजयको रुपमा अर्थ लगाउन थालिएको छ। यसैका बाछिटाहरु पछिल्लो समय सत्तासमीकरणमा पर्न लागेको बताइएको छ। स्रोतका अनुसार सत्ता राजनीतिमा रजगज गरेका दलहरुभित्रै आन्तरिक किचलोसमेत उपनिर्वाचनको मतपरिणामले उब्जाएको र सत्तासहयात्री दलबीच चिसोपना बढाएको छ। वर्तमान सरकारको विकल्प खोज्नेसम्मको तयारीमा दलहरु आन्तरिक रुपमा जुटेका छन्। उपनिर्वाचनको मतपरिणामले सत्तारुढ नेपाली कांग्रेसभित्र आन्तरिक किचलो थप बढाएको छ। आफ्नै पार्टीका उम्मेदवार निर्वाचित क्षेत्रबाटै कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका स्वर्णिम वाग्लेको जितले युवा नेताहरुको अक्षमता दर्शाएको भन्दै तिक्तता बढाएको छ। कांग्रेसभित्र पुस्तान्तरणको मुद्दा उठाएर युवा र सभापति शेरबहादुर देउवा इतर पक्षमा शशक्त देखिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न तेस्रिएको छ। सोही कारणले कांग्रेसमा आन्तरिक किचलो थप बढेको स्रोत बताउँछ। कांगेसका महामन्त्री शर्माले पार्टीमा रुपान्तरणको जरुरत रहेको सार्वजनिक रुपमा बताइसकेका छन्। नेतृत्वमा पुस्तान्तरण र कार्यशैलीगत रुपान्तरणको अपरिहार्यता बढेको उपनिर्वाचनले सन्देश व्यक्त गरेको उनको स्वीकारोक्ति छ। कांग्रेसमा देउवा इतर समूहको नेतृत्व गरेका नेता शेखर कोइराला सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन्। उनले प्रधानमन्त्री प्रचण्डले नयाँ ब्युँतिएको गठबन्धनलाई समेटेर चैत १७ गते गरेको मन्त्रिमण्डल पुनर्गठनमा समेत आफ्नो समूहलाई सरकारमा सामेल गराएका छैनन्। कांग्रेसले पाएको आठ मन्त्रालयमध्ये हाल देउवा पक्षका चार जनामात्रै सरकारमा सहभागी छन्। पार्टीमा सम्मानजनक उपस्थिति खोजेको शेखर समूहले तीन मन्त्रालय दाबी गरिरहेको छ। पछिल्लो समय सरकारमा सहभागीताका लागि कांग्रेसको शेखर गगन समूहले पार्टीमा स्वास्थ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। स्वास्थ्य मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने दाबी गरेको शेखर समूहले सोही मन्त्रालय नपाए सरकारमा सहभागी नहुने र सरकारलाई असहयोग गर्नेसम्मको कठोर निर्णय लिने तयारीमा रहेको स्रोतको दाबी छ।
सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको बताउँदै सरकारमा सामेल दल र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रभित्र असन्तुष्टि जब्बर रुपमा बढिरहेको छ। केही दिन अघि सरकारको नेतृत्व गरेको दलकै युवा नेता रामप्रसाद सापकोटाले सरकारको कामबारे सार्वजनिक रुपमा असन्तुष्टि जनाइसकेका छन्। यही परिपेक्षमा भर्खरै सम्पन्न उपनिर्वाचनमा भारी मतले विजयी भएका रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई समर्थन गरिरहनुपर्ने आवश्यकता नरहेको बताएपछि सत्तारुढ माओवादी केन्द्र त्रसित बनेको छ। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सरकारलाई दिएको समर्थन सरकारको कार्यसम्पादनमा निर्भर गर्ने बताउँछन्। उनले सरकारको कामकारबाही उल्लेख्य रुपमा अघि बढ्न नसकेकाले सरकारलाई दिएको समर्थन पुनर्विचारबारे पार्टी र संसदीय दलको बैठकबाटै निर्णय गर्ने उनको भनाइ छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल