Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायणकाजीले भने, विमानस्थलबाट अपराध नछिरोस्

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ०४७ सालदेखि हालसम्म गृहमन्त्रालय अन्तर्गत मन्त्री र सचिवले बिल बिना खर्च गर्दै आएको सुराकी खर्च खारेज गरिदिएका छन् । उनले गृहमन्त्रालयको कार्यभार लिनासाथ सचिव र मन्त्रीले सुराकीका नाममा दैनिक बिना बिल खर्च गर्ने अधिकार पाएको मन्त्रीको ५० हजार र सचिवको २५ हजार दैनिक खर्च कटौती गरेपछि चर्चामा आएका हुन् । यसअघि छोटो समय गृहमन्त्री हुँदा नारायणकाजी श्रेष्ठलाई सुराकी खर्चबारे जानकारी थियो कि थिएन ? तर यस पटक भने २०४७ सालदेखि स्थापित भएको उक्त खर्चलाई नियन्त्रण गर्दा राज्यको करोडौं जोगिएको छ । अहिलेसम्म गृहबाट भएको सो खर्चका बारेमा महालेखा परीक्षकको कार्यालय समेत प्रश्न उठाएको थिए । त्यो खर्च २४ करोड ५० लाख भन्दा बढी भएको अवस्था छ । गृहको नेतृत्व सम्हालेपछि सबैतिरका बेथिति नियाल्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गर्नुभएको छ । अनुगमनसँगै उहाँले अन्तराष्ट्रिय विमानस्थलको महत्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गर्नुभएको छ । गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गर्नुभएको थियो । रिपोर्टिङ सुनिसकेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनुभयो । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उहाँले निर्देशन दिनुभयो । निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताउनुभयो । अन्तराष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो । श्रेष्ठले भन्नुभयो– यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ । विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । पर्यटकको प्रवेशद्वार आफैंमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा उहाँको थियो । त्यस्तै विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामुहिकता एवम् अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको समेत सुधार हुनसक्नेमा उपप्रधानमन्त्री श्रेष्ठले सचेत गराउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुबाट विदेशमा ज्यान गुमाएका मजदुरहरुको लास राखिएको कफिनसमेत खोतलेर पीडितहरुलाई झन पीडा थप्ने काम भइरहेको आवाज संसदमा उठेपछि उप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको निरीक्षण गरेका हुन् ।