Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायण चौधरी फेरि अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । यी दुईमध्ये चौधरी तेस्रो पटक अख्तियारको फन्दामा परेका हुन् । यसअघि विराटनगरस्थित ९ नम्बर नापी गोश्वारा प्रमुख हुँदा पनि पक्राउ परेका उनी निलम्वनमा परेका थिए । चौधरी सुकुम्बासी समस्या समाधान आयोगको सदस्य सचिव हुँदा पनि सरकारी जग्गा आफ्ना भाई सत्यनारायण र सालो विनोदकुमार देवको नाममा दर्ता गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई मोरङको साविक बडहरी गाविस– ९ को कित्ता नम्बर ५४९ (च) को जग्गा सालो र मोरङ साविक जतुवा– १ को कित्ता नम्बर २१८८ (क) को दुई कठ्ठा जग्गा भाईको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो । काठमाडौंको बसुन्धरास्थित ६ नम्बर नापी गोश्वारा कार्यालयको प्रमुख हुँदा पनि चौधरी विवादमा तानिएका थिए । उनले गोगनपानी– ४, दैलेखको कित्ता नम्बर ९६ को १७ हजार ३०० वर्गमिटर जग्गा व्यक्तिको नाममा पारेको भूमि सुधार मन्त्रालयको अनुसन्धानले देखाएको थियो । मन्त्रालयले उनलाई दोषी ठहर गर्दै २०६८ असार २१ गते कानूनी कारवाही गर्न नापी विभागलाई निर्देशन दिएको थियो ।