Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरन्तरको अवरोधबीच संसद् अधिवेशन अन्त्य गरिने

काठमाडौँ । समस्याको समाधान खोजित जनप्रतिनिधिमूलक संस्था संसद नै बन्धक बनेपछि अधिवेशन अन्त्य गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको हो । एमाले अनुपस्थित रहेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूबीच अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा भइरहेको अवरोध हटाउने प्रमुख एजेन्डासहित बिहीबार बिहान बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमालेको अनुपस्थिति र संसद्मा भइरहेको अवरोधबारे केहीबेर छलफल भएको थियो । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार त्यसपछि नेताहरूले संसद्मा भइरहेको अवरोध र त्यसबाट परेको प्रभावबारे विभिन्न कोणबाट कुरा राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जरुरी विधेयकहरू पारित गर्न प्रयास गर्नुपर्ने र सम्भव नभए चालु संसद् अधिवेशन अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद् अवरोध हुँदा नागकितासम्बन्धी विधेयक पारित हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । श्रेष्ठका अनुसार ठाकुरले सरकारसँग विमति भए पनि संसद्बाट जनताको पक्षमा काम हुनुपर्ने बताए । संघीय संसद् सचिवालयको वेबसाइटमा उल्लेख भएअनुसार अहिले प्रतिनिधिसभामा ३१ र राष्ट्रिय सभामा २७ वटा विधेयक थन्किएका छन् ।
एमालेले भदौ २३ देखि निरन्तर संसद् अवरोध गरिरहेको छ । अवरोध हटाउन यसअघि भदौ २८ मा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा पनि एमाले उपस्थित भएको थिएन । यहीबीच असोज ७ मा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सर्वदलीय बैठक गरेर संसद्को समस्या समाधान गर्न रुलिङ गरेका थिए । सोहीअनुसार प्रधानमन्त्रीले बिहीबार बैठक बोलाएका थिए । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एकपटक पुनः एमालेलाई संवादमा ल्याउन पहल गर्ने र त्यसपछि पनि सम्भव नभए अन्य विकल्पबारे सोच्ने बैठकको निष्कर्ष रहेको बताइन् ।