Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पार्टीभित्रै भाँडभैलो मच्चाएको एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् ।
यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डा तय गरेको छ । जसमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड(१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । बैठकमा यीनै एजेण्डमाथि छलफल हुने महासचिव विष्णु पौडेलले बताए । यसैगरी बैठकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषयमा समेत छलफल हुने छ । एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन । नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो । एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।