Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन्। सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानीका अवसर रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत आफ्नो लगानी विस्तार गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँगै भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित नेपाल–भारत निजी क्षेत्रको संयुक्त कार्यक्रममा यस्तो आह्वान गरेका हुन्।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएको बताए।

‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’

उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको पनि बताए। लगानी प्रक्रियालाई सरल, सहज र लगानीमैत्री बनाउन सरकारले आवश्यक सुधार अघि बढाइरहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले विदेशी लगानीकर्ताको विश्वास बढाउन लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहज बनाउने विषयमा सरकारले विशेष पहल गरिरहेको जानकारी दिए।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।

नेपालबाट प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी उद्योगी तथा व्यवसायी र भारतका डेढ दर्जनभन्दा बढी उद्योगी व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता थियो।

नेपाल र भारतका निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमलाई दुई देशबीच लगानी तथा व्यावसायिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।